धरान । फ्रान्सको चर्चित फुटबल लिग ‘लिग वान’ को उपाधि पेरिस सेन्ट जर्मेन (पिएसजी) ले प्राप्त गरेको छ ।

१२ अंकको स्पष्ट अग्रता कायम गरेको आधारमा पिएसजीलाई उपाधि दिइएको हो । योसँगै पिएजसीले सातौं पटक उपाधि हात पारेको हो । कोरोनाको महामारीका कारण युरोपमा १३ मार्च यता लिग स्थगित गरिएको थियो । कोरोनाका कारण अनिश्चित बनेपछि अंक तालिकाको आधारमा पिएसजीलाई सन् २०१९÷२० को उपाधि दिइएको हो ।

अंक तालिकाअनुसार मार्सेली दोस्रो स्थान बनाएको छ । मार्सेलीले ५६ अंक बनाएको थियो । यता पिएसजीको ६८ अंक रहेको थियो । तेस्रो स्थानमा रहेको रेनिसको ५० अंक रहेको छ । यी तिनैवटा क्लबले च्याम्पियन्स लिगका लागि आफ्नो स्थान बनाएका छन् ।

फ्रान्सका प्रधानमन्त्री इडुआर्ट फिलिपेलले यसअघि सेप्टेम्बरसम्म सबै खेल गतिविधि रद्द गर्न निर्देशन दिएका थिए । जसका कारण सेप्टेम्बरसम्म कुनै खेल गतिविधि नहुने निश्चित भएपछि अंक तालिकाका आधारमा पिएसजीलाई उपाधि दिने घोषणा गरिएको हो ।