धरान । केही समयमा हराएका उत्तर कोरियाका नेता किम जोङ उन बल्ल सार्वजनिक कार्यक्रममा देखिएका छन् ।
मोटोपना, मुटुको रोगका कारण उनको मृत्यु भएकोसम्म खबर भाइरल भएका नेता उन २० दिनपछि कार्यक्रममा देखा परेका छन् । किम एक रासायनिक मलको कारखाना उद्घाटनमा रिबन काट्दै गरेको तस्बिर सार्वजनिक भएको छ । उत्तर कोरियाली समाचार एजेन्सी केसिएनएले उक्त तस्बिर सार्वजनिक गरेको हो ।
उनी वरिष्ठ अधिकारी तथा आफ्नी बहिनी किम यो जोङको साथमा सहभागी भएको तस्बिरमा देख्न सकिन्छ । यसअघि उनी सार्वजनिक कार्यक्रममा १२ अप्रिलमा देखिएका थिए । त्यसपछि उनी गम्भीर बिरामी परेको भन्दै संसारका ठूला मिडियाहरूले सार्वजनिक गरेका थिए । किनकि उनी आफ्नो हजुरबुबाको जन्मदिन १५ अप्रिलका दिन सहभागी भएका थिएनन् ।
हरेक वर्ष आफ्नो हजुरबुबा किम इल सुङको जन्मदिन सेलिब्रेट गर्दै गरेका देखिने उनी नदेखिनुले उनी गम्भीर बिरामी परेको अड्कलबाजी गरिएको थियो । यसअघि सन् २०१४ मा पनि ४० दिन उनी कुनै पनि गतिविधिमा देखिएका थिएनन् । त्यसबेला पनि धेरै खाल्का अड्कलबाजी र अफवाह फैलिएको थियो ।
उनी गम्भीर बिरामी परेको समाचारहरू सार्वजनिक भइरहेका बेला दक्षिण कोरियाली नेताहरूले किम बिरामी नभएको कुरा बाहिर ल्याएका थिए । उनको मृत्युसम्म भएको केही मिडियामा सार्वजनिक भएपछि भने दक्षिण कोरियाली नेता बोल्न बाध्य बनेका थिए । सरकारी मिडियामा नेता किम १२ अप्रिलका दिन लडाकु विमानको निरीक्षण गरिरहेको अवस्थाको तस्बिर सार्वजनिक भएको थियो । त्यसपछि उनी कुनै पनि सार्वजनिक कार्यक्रममा देखिएका थिएनन् ।