धरान । धरानको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले २०७७ सालको सार्वजनिक बिदा कटौती गरेको छ ।

प्रतिष्ठान प्रशासनले सार्वजनिक बिदाको सूचना बाहिर निकालेसँगै नेपाल सफाइ कर्मचारी युनियनले पुनर्विचार गर्न माग गरेको छ । प्रतिष्ठानको कर्मचारी प्रशासन शाखाका शाखा अधिकृत प्रदीप शाक्यद्वारा हस्ताक्षरित सार्वजनिक बिदा वर्षभरि कुल १५ बिदा मात्रै स्वीकृत गरिएको छ ।

Bp_pratisthan

बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान नियमावली २०५५ अनुसार १२ दिन सार्वजनिक बिदा दिने नियम रहेको छ । तर, लोकतन्त्रपछि राज्यले दिने विभिन्न बिदासमेत गरेर कुल १८ दिन बिदा दिँदै आएको थियो । यसपटक भने ३ दिन बिदा कटौती गरेको हो ।

प्रतिष्ठान प्रशासनले वैशाख १६ गते बिदाको कटौतीसहितको सूचना सार्वजनिक गरेको हो । जसमा वैशाखमा २ दिन मात्रै बिदा दिइएको छ भने त्यसपछि असोज अर्थात् दशैंमा मात्रै बिदा दिइएको छ । त्यसबीचमा भएका बिदाहरू पूर्ण कटौती गरिएको छ । कोरोना महामारीका कारण देश लकडाउनमा भएकाले अहिले प्रशासनको काम पूर्णरूपमा ठप्प छ । तर, प्रशासनले महामारीको विषयलाई सार्वजनिक बिदाका बारेमा कुनै कुरा पनि उल्लेखित गरिएको छ ।

शाखा अधिकृत शाक्यले वैशाख ९ गतेको प्रतिष्ठान कार्यकारिणी समितिको निर्णय बमोजिम सार्वजनिक बिदाको विषयमा सूचित गरेको हो । यता नेपाल सफाइ कर्मचराी युनियन बीपी प्रतिष्ठान इकाई कमिटीले भने बिदाका विषयमा पुनर्विचार गर्न माग गरेको छ ।

युनियनका अध्यक्ष सीता विक र सचिव कविता श्रेष्ठद्वारा हस्ताक्षरित विज्ञप्तिमा प्रतिष्ठान प्रशासनले जारी गरेको सार्वजनिक बिदाको सम्बन्धमा सीमित जातजातिको धर्मसंस्कार र संस्कृतिसँग जोडेर धेरै बिदा रहेको उल्लेख गरिएको छ । मजदुर दिवस (मे १) को विषयमा सार्वजनिक बिदामा कुनै कुरा उल्लेख नभएकोप्रति आपत्ति जनाएका छन् । यस विषयमा पुनर्विचार गर्नका लागि माग गरिएको छ ।