धरान । भ्रष्ट रणनीतिबारे सूचित नगरेको आरोपमा पाकिस्तानका ब्याट्सम्यान उमर अक्मलमाथि तीन वर्षको प्रतिबन्ध लागेको छ ।

पाकिस्तानको मिडिया फ्रष्टपोष्टका अनुसार तीन वर्षसम्म उनलाई क्रिकेटका कुनै पनि गतिविधिमा संलग्न हुन नपाउने गरी प्रतिबन्ध लगाइएको हो । पाकिस्तान क्रिकेट बोर्ड (पिसिबी) ले भ्रष्टाचार विरोधी नियमअनुसार दुई भ्रष्ट रणनीतिबारे सूचित नगरेकोमा उनलाई दोषी ठहर गरेको छ । कारबाही स्वरूप तीन वर्षसम्म २९ वर्षी अक्मललाई सोमबार प्रतिबन्ध लगाउने घोषणा गरेको हो ।

अक्मल पाकिस्तानी राष्ट्रिय क्रिकेटमा सन् २००९ मा नै डेब्यु गरेका थिए । १९ वर्षको उमेरमै डेब्यु गरेका उनले न्यूजिल्याण्डविरुद्धको डेब्यु खेलमै शतक प्रहार गर्दै आफूलाई उत्कृष्ट ब्याट्सम्यान प्रमाणित गरेका थिए । हालसम्म उनले पाकिस्तानबाट १६ टेष्ट, १२१ एक दिवसीय खेल र ८४ टी–ट्वान्टी खेल खेलिसकेका छन् । टेष्टमा १ हजार ३ रन, एक दिवसीयमा ३ हजार १९४ रन र टी–ट्वान्टीमा १ हजार ६९० रन जोडेका छन् ।

अक्मलले पछिल्लो पटक राष्ट्रिय टिमबाट अक्टोबरमा खेलेका थिए । उनी व्यवसायिक रूपमा क्वेटा ग्लयाडिएटर्स क्लबबाट क्रिकेट खेल्दै आइरहेका छन् । उनका दाजु कमरन अक्मल पनि पूर्व विकेट किपर हुन् ।