धरान । भोजपुरको दक्षिणी क्षेत्र हतुवागढी–६ का २६ वर्षीय कोरोना संक्रमित युवालाई आज विराटनगर लगिँदै छ ।
फागुन ३० गते नेपाल आएका उनलाई ४० दिनपछि कोरोना संक्रमण भएको पुष्टि भएपछि उनलाई हतुवागढी–१ स्थित स्वास्थ्य केन्द्रको आइसोलेसनमा राखिएको थियो । उनलाई शुक्रबार नै विराटनगर लगिने बताइए पनि विभिन्न समस्याका कारण आज बिहान मात्रै लाने तयारी भएको हतुवागढी गाउँपालिकाका प्रशासकीय अधिकृत मणिराम खतिवडाले जानकारी दिए । ‘हिजो नै लाने भनिएको थियो, भ्याइएन, आज लाने तयारी भइरहेको छ’–उनले ब्लाष्टकर्मीलाई फोनसम्पर्कमा भने ।
ती युवाको सम्पर्कमा आएकाहरूको स्वाब संकलन भइरहेको छ । शुक्रबार परिवारसहित एकदमै नजिकमा सम्पर्क रहेका १४ जनाको स्वाब संकलन भइसेकेको अधिकृत खतिवडाले जानकारी दिए । गाउँमा आएपछि उनी विभिन्न खेलमा समेत सहभागी बनेका थिए । ‘विभिन्न खेल पनि खेल्दो रहेछ, सबैतिर घुमफिर, उठबस भएको रहेछ’–उनले भने ।
हतुवागढी शिल
अहिले हतुवागढी गाउँपालिकाका सबै सीमा नाका शिल गरिएको छ । संक्रमित रहेको वडा पूर्णरूपमा शिल गरिएको छ भने बाहिरबाट आउजाउ पूर्ण रोक लगाइएको भोजपुरका प्रमुख जिल्ला अधिकारी वसन्त पुरीले जानकारी दिए ।
प्रजिअ पनि गाउँपालिकाकाे निरीक्षणमा खटिँदै
भोजपुर सदरमुकामबाट ४५ किलोमिटर दक्षिणमा रहेको हतुवागढी गाउँपालिकाको अनुगमन, निरीक्षण्का लागि प्रजिअ पुरीको नेतृत्वमा टोली आज बिहान हतुवागढीका लागि निस्किएका छन् । ‘अबको एक घण्टाभित्र हामी पनि त्यहाँ पुग्छौं’ उनले फोनसम्पर्कमा भने, ‘त्यहाँ सबैतिर शिल गरिएको छ । बाहिरका मान्छे आउजाउ बन्द गरिएको छ ।’
उनका अनुसार ती युवाका सम्पर्कमा आएका सबैजसोको स्वाब संकलन गरिने तयारी भएको छ । ‘४० देखि ५० जनाभन्दा बढीसँग दैनिक उठबस भएको कुरा सुन्नमा आएको छ’ उनले भने, ‘तिनीहरू सबैको स्वाब संकलन गरेर पिसिआर गरिन्छ ।’ शुक्रबार १४ जनामध्ये ७ जनाको र्यापिड डाइग्नोष्टिक टेष्ट गर्दा संक्रमण नभएको रिपोर्ट आएको छ । उनीहरूको स्वाब पिसिआरका लागि आज पठाइँदै छ ।
मुख्यमन्त्रीद्वारा भ्रमण गरिँदै
हतुवागढीका प्रशासकीय अधिकृत खतिवडाका अनुसार आजै १० बजेतिर प्रदेश १ का मुख्यमन्त्री शेरधन राई पनि गाउँपालिकाको निरीक्षणका लागि पुग्ने कार्यक्रम छ । मुख्यमन्त्री राईको छिमेकी गाउँपालिका हो । संक्रमित युवा रहेको हतुवागढी मुख्यमन्त्री राईको निर्वाचन क्षेत्रसमेत हो ।
हतुवागढी १४२ वर्गकिलोमिटर क्षेत्रफलमा फैलिएको छ । जिल्लाको दुर्गम क्षेत्र भए पनि अहिले जताततै बाटो पुगेकाले सुगम गाउँपालिकाको रूपमा चिनिन्छ ।