धरान । कोरोना भाइरसको महामारीका कारण अहिले विश्वका ठूला फुटबल खेलहरू स्थगित भएका छन् । रोकिएका खेलहरू कहिलेबाट सुरु हुने कुनै निश्चित छैन ।

युरोपको सर्वाधिक लोकप्रिय च्याम्पियन्स लिगको पनि कुनै टुंगो छैन । अन्य खेलहरूको अवस्था पनि उस्तै छ । यहाँसम्म कि महामारीका कारण सबैसबै खेलहरू स्थगित भइरहेका बेला जर्मनीको बुण्डेसलिगा फुटबल भने हुने भएको छ ।

तर, खेलमा कुनै दर्शक हुने छैनन् । दर्शकबिनै हुने खेलहरू आउँदो मे ९ देखि सुरु गर्ने तयारी गरिएको छ । बुण्डेसलिगा जर्मनको सबैभन्दा प्रख्यात लिग हो । यो लिगमा विश्वको सबैभन्दा बढी दर्शकहरू सहभागी हुने दाबी गरिन्छ ।

जर्मन फुटबल लिगले यस सिजनमा बाँकी रहेका खेलाहरू खेलाउने निर्णय गरेसँगै बुण्डेसलिगा हुने निश्चित भएको हो । बिहीबार बुण्डेसलिगा र दोस्रो डिभिजनका क्लबहरूबीच बैठक बसेको थियो । दर्शकबिनै खेल सञ्चालन गर्ने ती क्लबहरूले निर्णय गरेका छन् ।