कालाबन्जार । कोरोना महामारीका कारण सरकारले गरेको लकडाउन बढेसँगै गाउँघरमा चोरीका घटना वृद्धि हुन थालेका छन् ।
सुनसरीको वराहक्षेत्र–५ स्थित कालाबञ्जार क्षेत्रमा एकै दिन ४ घरमा चोरी भएको छ । यसरी चोरी भएको यो पहिलो घटना भएको स्थानीय दाबी गर्छन् । कालाबञ्जारमा सोमबार राति मीना गौतम कट्वाल, सुनिता घिमिरे, रोम निरौलाको घरमा चोरी भएको हो ।
तर, चोरहरूले पानी तान्ने मेसिन र साइकल चोरी गरेका छन् । कट्वाल र घिमिरेको घरमा प्रयोग गरिएको एक–एक थान पानी तान्ने मोटर चोरी भएको छ । त्यस्तै निरौलाको दाजुभाइको घरमा एक–एक थान साइकल चोरी भएको छ । यसरी एकैदिन चार घरमा चोरी भए पनि कसले चोरी गरेको हो भन्ने खुल्न सकेको छैन । यसअघि पनि लक्ष्मीपुरमा इनदल चौधरीको घरबाट ८ वटा स्थानीय जातको कुखुरा चोरी भएको थियो । चौधरीका अनुसार लक्ष्मीपुरमा निर्माणाधीन अवस्थामा रहेको घरको ३ थान झ्याल र एक थान ढोकाको चौकस चोरी भएको थियो ।
यसरी चोरी भए पनि हालसम्म चोर पत्ता लाग्न सकेको छैन । इलाका प्रहरी कार्यालय कालाबञ्जारका प्रमुख विनोद दाहालका अनुसार चोरी भएको सुनिए पनि उजुरी नआएकाले कारबाही प्रक्रिया अगाडि नबढेको बताए । उनले मंगलबार बिहानको समयमा कान्छीचोक जाने सडकभन्दा पूर्वपट्टिको खेतमा पुराना साइकल र झोलामा रेञ्चहरू भेटिएको बताए । उनका अनुसार चोरहरू स्थानीय नै हुन् ।
वराहक्षेत्र–५ का वडाध्यक्ष राजु अधिकारीले चोरी बढेसँगै गाउँगाउँमा माइकिङ गरेर सूचित गरिरहेको बताए । उनले सामग्री जथाभावी नछाड्नका लागि पनि आग्रह गरिएको बताए ।