धरान । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कोरोनाभाइरस संक्रमण रोक्नका लागि अमेरिका प्रवेशमा रोक लगाउने घोषणा गरेका छन् ।
ट्रम्पले सोमबार राति ट्वीट गर्दै अमेरिका प्रवेशमा अन्य देशका नागरिकलाई प्रवेशमा रोक लगाउने भएको हो । त्यसो त यसअघि नै पनि ट्रम्पले डिभी रोक्ने उद्घोष गरेका थिए । तर, अहिले कोरोना महामारीका कारण प्रतिकूल बन्दै गएका कारण ‘एक्जिक्यूटिभ अर्डर’ मा हस्ताक्षर गर्दै विदेशी नागरिकलाई अमेरिका प्रवेशमा रोक लगाइने भएको हो ।
अमेरिकाले यसलाई दुई तरिकाले हेरेको छ, एउटा कोरोनाको संक्रमण फैलिन नदिनका लागि अर्को अमेरिकी नागरिकका लागि रोजगारी सुरक्षित गर्न । कोरोना महामारीका कारण धेरै नागरिकले अहिले रोजगार गुमाउने सम्भावना बढेर गएको छ । यसलाई मध्यनजर गर्दै विदेशी नागरिकहरूलाई प्रवेशमा रोक लगाउन लागिएको बताइएको छ ।
ट्रम्पले पनि रोजगारीको अवसर गुमिरहेकाले अमेरिकी नागरिकहरूको रक्षार्थ कदम चाल्नु परेको ट्वीटमा उल्लेख गरेका छन् । यो घोषणामा अमेरिकामा नवप्रवेशीको लागि हो या जो हाल बसिरहेका छन् उनीहरूका लागि पनि हो भन्ने बुझ्न सकिएको छैन । त्यसो त कयौं देशलाई अमेरिकाले प्रवेशमा प्रतिबन्ध लगाएको छ । कोरोना संक्रमण रोक्नका लागि चीन, युरोप, क्यानडा र मेक्सिको देशको यात्रामा प्रतिबन्ध लगाएको छ ।