मधुमल्ला । मोरङको मिक्लाजुङ गाउँपालिका–९ को राय मेडिकल शिल गरिएको छ ।

मंगलबार बजार अनुगमनको क्रममा मेडिकलमा डाक्टरको पुर्जाबिना बिक्री गर्न नपाइने विभिन्न किसिमका औषधिहरू बिक्री गरेको पाइएपछि शिल गरिएको हो । मेडिकलमा म्याद गुज्रिएका औषधिसमेत भेटिएको थियो । मिक्लाजुङ गाउँपालिकाको उपभोक्ता हित संरक्षण समितिले गरेको अनुगमनका क्रममा चिकित्सकको प्रेस्किप्सनबिनै औषधि बिक्री गरेको पाइएको समितिकी अध्यक्ष तथा गाउँपालिकाकी उपाध्यक्ष सरला राईले बताइन् ।

प्रेस्किप्सबिनै औषधि बिक्री गरेको र म्याद नाघेका औषधिहरू भेटिएपछि शिल गर्न बाध्य भएको उनले बताइन् । उनको नेतृत्वमा विभिन्न पसलमा अनुगमन गरिएको थियो । मानसिक रोगीहरूको लागि बिक्री गरिने मनोद्दिपक औषधिहरू खुलेआमरूपमा बिक्री गरेको पाइएको थियो ।

उक्त मेडिकलले अन्य औषधिका खोलका बट्टामा हालेर बिक्री गर्दै गरेको पाइएको अध्यक्ष राईले बताइन् । मनोद्दिपक औषधिहरू बिक्री गरेको भन्ने सूचनाका आधारमा औषधि पसलमा अनुगमन गर्दा राय मेडिकलमा गलत तरिकाले बिक्री गरेको पाइएपछि शिल गरिएको उनले बताइन् । विभिन्न प्रकारका १ हजार ५० वटा औषधिका गोलि भेटिएको मिक्लाजुङ गाउँपालिका स्वास्थ्य शाख अधिकृत चिन्तामणि पोखरेलले जानकारी दिए । तत्कालका लागि पसल बन्द गरी आवश्यक कारबाहीको लागि औषधि व्यवस्था विभाग मोरङमा पत्राचार गरिएको प्रमुख पोखरेलले बताए ।

raya_medical_sil_morang (2)