विराटनगर/प्रतिवादीहरूको कोरोना जाँचको प्रतिवेदन साथमा अभियोग पेस गरेपछि मात्र जिल्ला अदालत मोरङमा मुद्दा दर्ता हुने गरेको छ ।

सर्वोच्च अदालतले स्वास्थ्य जाँचको प्रतिवेदनसहित प्रतिवादी पेस गर्ने आदेश गरेपछि सोमबारदेखि मोरङ अदालतमा कोरोना परीक्षण गरेको प्रतिवेदन पनि बुझाउनुपर्ने भएको हो । सोमबार मोरङ अदालतमा विभिन्न मुद्दाका ५ जना प्रतिवादीहरूको कोरोना परीक्षण गरेको प्रतिवेदन आएपछि मात्र मुद्दा दर्ता गरिएको जिल्ला अदालत मोरङका श्रेस्तेदार इश्वरमणि ओझाले जानकारी दिए ।

अदालतको आदेशपछि पुर्पक्षका लागि कारागारमा पठाइने प्रतिवादीहरूको पनि कोरोना परीक्षण गरेर मात्र कारागार पठाएको छ । वैशाख ३ र ४ गते मोरङ अदालतको आदेशले विभिन्न मुद्दामा २७ जना प्रतिवादीलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश गरेको थियो ।

थुनामा जाने सबै प्रतिवादीको विराटनगरस्थित कोशी अस्पतालको ल्याबमा स्वाब ल्याएर गरिने परीक्षण विधि (पीसीआर) बाट परीक्षण गरिएको श्रेस्तेदार ओझाले जानकारी दिए । कोशी अस्पतालमा गरिएको परीक्षणमा सबै प्रतिवादीहरूको रिर्पोट नेगेटिभ आएको अस्पतालले जनाएको छ । प्रहरीले अनुसन्धान प्रक्रिया पूरा गरेपछि अदालतमा अभियोग बुझाउँदा अभियुक्तको कोरोना परीक्षण प्रतिवेदनको पनि रिपोट बनाउनु पर्दछ ।

‘महामारीको अवस्थामा प्रतिवादीहरू हिरासतमा रहँदा निजहरूमा पनि संक्रमण भए नभएको वा फैलिए नफैलिएको पत्ता लगाउन निजहरूको आरडीटी र पीसीआर वा अन्य उपयुक्त परीक्षण प्रविधिबाट परीक्षण भएको तत्कालको रिपोर्ट आएपछि सो रिपोर्ट साथै राखी प्रतिवादीहरूको अदालतमा अभियोग दर्ता हुने गरेको छ,’ अदालतका श्रेस्तेदार ओझाले भने । सर्वोच्च अदालतले समेत बुधबार महान्यायाधीवक्ता कार्यालयलाई बयानका लागि अभियुक्त पेस गर्दा स्वास्थ्य जाँच प्रतिवेदन साथै ल्याउन पत्राचार गरेको छ ।