धरान । भारतको उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथका पिताको मृत्यु भएको छ ।

लामो समयदेखि बिरामी रहेका ८९ वर्षीय पिता आनन्दसिंह विष्टको सोमबार बिहान मृत्यु भएको हो । भारतको दिल्लीस्थित एम्समा उपचाररत रहेका उनी सोमबार बिहान मृत्यु भएको थियो । उनको निधनको कारण ‘मल्टी अग्र्यान फेलियर’ रहेको चिकित्सकहरूको भनाइ उदृत गर्दै भारतीय मिडियाले उल्लेख गरेका छन् । उपचारमा संलग्न एक बरिष्ठ डाक्टरका अनुसार मुख्यमन्त्री आदित्यनाथका पितालाई थुप्रै रोगहरू रहेका थिए । उनको मृगौला, कलेजोलगायतले काम गर्न छाडेको थियो । उनको रक्तचाप एक्कासी तल झरेको थियो भने शरीरमा पानीको मात्रा घटेको थियो ।

उनलाई बचाउनका लागि विभिन्न उपायहरू गरिए पनि बचाउन नसकिएको ती चिकित्सकले उल्लेख गरेका छन् । उनको मृत्यु सोमबार बिहान १०ः४४ बजे भएको थियो । मुख्यमन्त्री आदित्यनाथले बुबाको मृत्युको खबर सुनेलगत्तै कोरोनाभाइरसका कारण केही मन्त्री तथा अधिकारीहरूसँग छलफल गरेका थिए ।

विष्टको आज अन्तिम दाहसंस्कार गरिँदै छ । तर, उनको दाहसंस्कारमा सकेसम्म कमभन्दा कम मानिसहरूलाई सहभागी हुनका लागि मुख्यमन्त्री आदित्यनाथले अपिल गरेका छन् । उनले कोरोनालाई हराउनका लागि पनि अन्तिम संस्कारमा भाग नलिनका लागि आग्रह गरे ।