धरान । भारतको तेलङ्गना शहरमा घर हिँडेका एक १२ वर्षीय बालकको ज्यान गएको छ ।
तेलङ्गनाको पेरुरदेखि आफ्नो गाउँ आदेण्ड (बीजापुर) हिँडेका उनी तीन दिनपछि भोकका कारण ज्यान गएको हो । सरकारले गरेको लकडाउनका कारण सवारी साधन नपाएपछि पैदल नै हिँडेका उनी तीनदिनसम्म सय किलोमिटर दूरी तय गरेका थिए । तर, हिँडाइका कारण नै उनी सामान्य बिरामी पनि भए । आफूसँग खाने अन्नसमेत नभए पछि उनी भोककै कारण गाउँ पुग्नुभन्दा १४ किलोमिटर अगाडि नै उनको ज्यान गएको हो । उनको साथमा गाउँका अन्य मानिसहरू पनि रहेका थिए ।
तर, जहाँ उनीहरू पुगेका थिए, त्यहाँ जङ्गल क्षेत्र भएकाले उपचार गर्न सम्भव नभएपछि उनको मृत्यु हुन पुगेको भारतीय सञ्चारमाध्यमले उल्लेख गरेका छन् । उनको अन्न खान नपाएका कारण पेट दुख्ने समस्या सुरु भएको थियो । उनी दुई महिना अगाडि कामको खोजीमा पेरुर गाउँमा पुगेका थिए । लकडाउनका कारण काम बन्द भएपछि उनी गाउँतिर फर्किएका थिए । पेरुर गाउँमा उनले खोर्सानी टिप्ने काम पाएका थिए ।