धरान । प्रदेश १ का विभिन्न तीन जिल्लाका फरकफरक स्थानमा तीन मानिसहरू मृत अवस्था भेटिएका छन् ।

प्रदेश १ को तेह्रथुम, पाँचथर र झापामा सोमबार मृत अवस्थामा तीन व्यक्ति फेला परेका हुन् । तेह्रथुमको लालीगुराँस नगरपालिका–२ दारेगौडा नजिकै संखुवासभा घर भएका ४२ वर्षीय पासाङ शेर्पा मृत भेटिएका हुन् ।
यसै गरी पाँचथरको मिक्लाजुङ गाउँपालिका–१ मा ४४ वर्षीय वलीबहादुर आङ्देम्बे मृत भेटिएका हुन् । उनी साँवाखोलामा डुबेको अवस्थामा मृत फेला परेको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ ।

वैशाख ६ गते घरबाट आफूखुसी निस्किएका आङ्देम्बे सोमबार अपरान्ह पौने ४ बजे खोलाको दहमा फेला परेका थिए । यस्तै झापाको मेचीनगर नगरपालिका–६ का ५५ वर्षीय चित्रबहादुर गौली बाँसघारीमा मृत भेटिएका थिए । उनलाई सोमबार दिउँसो साँढे ३ बजेतिर मृत अवस्थामा फेला पारिएको इलाका प्रहरी कार्यालय काँकडभिट्टाले जनाएको छ ।

घटना के कति कारणले भएको हो भन्ने विषयमा अहिले अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।