कालाबञ्जार । रामधुनी मन्दिर परिसरको काँचो रुख काटेको पाइएको छ । मन्दिरका पुजारी कासीदास उदासीले लकडाउनको मौका छोपेर मन्दिर व्यवस्थापन समितिले फलफूललगायतका काँचो रुख काटेको आरोप लगाए ।
तर, रामधुनी बाबा बनखण्डी मन्दिर गुठी व्यवस्थापन समितिले छलफलबाट निर्णय गरेरै रुख काटेको दाबी गरेको छ । रुख काट्ने विषयमा जिल्ला वन कार्यालयलाईसमेत पत्राचार गरिएको समितिका अध्यक्ष डिल्ली कार्कीको भनाइ छ । यता पुजारी उदासीले आफूहरूलाई कुनै जानकारी नदिइएको बताए ।
उनले समितिले कोरोना महामारीका बेला गरिएको लकडाउनको फाइदा उठाइरहेको आरोप लगाए । उनका अनुसार बिक्री गर्ने उद्देश्यले दुई वटा आँप र दुई वटा जामुनको रुख कटान गरेको छ । उनी २०२५ सालदेखि मन्दिरमा बस्दै आएका छन् । हाल पुजारीका रूपमा कार्यरत छन् ।
समितिले चार वटा रुख कटान गरी १० वटा गोलिया बनाएर बिक्रीका लागि तयार गरेको उदासी अखडाका संरक्षणकर्ता मोहीनारायण दासले बताए । उनका अनुसार कटान गरेर बनाएको गोलियामध्ये ३ थान जहाँ काटिएको सोही स्थानमा राखिएको भए पनि अन्य गोलिया गोबरले छोपेर राखिएको छ । त्यस्तै दुई वटा गोलिया लानका लागि तयार गरिएको छ । गत वर्ष कटहर प्रजातिको रुख पनि यसरी नै कटान गरिएको थियो ।
समितिले मन्दिर व्यवस्थापनको प्रयोजनका लागि रुख कटान गरेको बताएको छ । अध्यक्ष कार्कीले तस्कर गर्ने मनसायले नभई सामूहिक छलफलबाटै मन्दिर हितका लागि कटान गरेको बताए । उनका अनुसार लिवाङ्ग धर्मसालामाथि ट्रष्ट लगाउनका लागि दाताहरूबाट सहयोग आएकाले धर्मशाला छोपिएका रुख र रुखका हाँगाहरू कटान गर्नुपरेको हो । उनले भने, ‘समितिका १ सयभन्दा बढी मानिसहरू उपस्थित भएर साधारणसभाबाटै पारित गरिएको छ । त्यसको जानकारी जिल्ला वन कार्यालयलाई पनि दिइएको छ । व्यक्तिगत प्रयोजनका लागि कटान गरिएको भन्ने आरोप मात्रै हो ।’