धरान । जम्मू–काश्मीरको बारामुला जिल्लास्थित सोपोरमा भएको आतङ्की हमलामा तीन जना भारतीय सिपाहीले ज्यान गुमाएका छन् ।

थुप्रै सुरक्षाकर्मी घाइते भएको भारतीय संचारमाध्यमले उल्लेख गरेका छन् । केन्द्रीय रिजर्व पुलिस बल (सीआरपीएफ) का तीन जवान शहीद भएका हुन् । घटना भएको क्षेत्रमा अहिले सुरक्षा तैनाथ गरिएको छ । शनिबार राति अचानक हमला भएको थियो । आतङ्ककारीहरूले सीआरपीएफ र भारतीय प्रहरीलाई निशाना बनाएका थिए । घाइते बनेका पुलिस तथा सीआरपीएफका सिपाहीहरूलाई स्थानीय अस्पतालमा भर्ना गरिएको छ ।

शुक्रबार जम्मू–कश्मीरको पुलवामा जिल्लास्थित नेवामा पनि आतङ्वादीहरूले हमला गरेका थिए । सीआरपीएफको एक टुकडीमाथि गरिएको हमलामा एक सीआरपीएफ जवानलाई गोली लागेको थियो । ७ अप्रिलमा अनन्तनाग जिल्लाको बिजबेहरा क्षेत्रमा भएको आतङ्की हमलामा पनि एक सीआरपीएफका जवान शहीद बनेका थिए । एक जवान घाइते बनेका थिए ।

पुलवामा क्षेत्रमा दुई जना शंकास्पद व्यक्तिलाई नियन्त्रणमा लिन सफल भएको राष्ट्रिय जाँच एजेन्सी (एनआइए) ले जनाएको छ । नियन्त्रणमा लिएका व्यक्तिमध्ये एक जनाले अनलाइनमार्फत आइइडी बनाउनका लागि रसायन खरिद गरेको भेटिएको छ । गत वर्ष पुलवामा जिल्लामा भएको आतङ्वादी हमलामा सीआरपीएफ का ४० जवान शहीद बनेका थिए । सन् २०१९ फेब्रुअर १४ का दिन सीआरपीएफको क्षेत्रमा छिरेर आत्मघाती बम बिस्फोट गराएको थियो ।