उदयपुर । उदयपुरको नुरी मस्जिदमा कोरोना संक्रमण पुष्टि भएका भारतिय नागरिकहरु रानीभन्सारबाट नेपाल प्रवेश गरेको पाइएको छ । गत डिसेम्बर १० तारिखको दिन मोरङको रानी भन्सा हुदै नेपाल प्रवेश गरेको उनीहरुको ट्राभल्स हिस्ट्रीले देखाएको हो ।
उनीहरु मोरङ, सुनसरीको विभिन्न मस्जिदहरुमा ३ महिना घुमफिर गरेको देखिन्छ । फागुन ३ देखि ५ गतेसम्म सप्तरीको वोदेबर्साइन नगरपालिका– ५ जाँजरमा भएको नेपाल इज्तिमा सहभागी हुँदै सप्तरीको फत्तेपुरमा फागुन २५ गते, चौदण्डीगढी नगरपालिका ५ सिवाईमा चैत्र २९ गते त्यसपछि मोथियाही हुँदै त्रियुगा नगरपालिका–३ भुल्के स्थिती नुरी मस्जिद चैत्र ५ गते आई पुगेको एक सुरक्षा अधिकारीले बताए ।
गत चैत्र १४ गते जिल्ला प्रशासन कार्यालयको प्रतिनिधि, प्रहरी र वडाध्यक्ष लगायत संयुक्त टोलीले मस्जिदको अनुगमनमा ८ भारतीय र ४ नेपाली पाएको त्रियुगा नगरपालिका ३ का वडाध्यक्ष अवधेशप्रसाद चौधरीले बताए । मस्जिदको अनुगमन गरेर लकडाउन भरी मस्जिद भन्दा बाहिर नजान अनुरोध गरेको उनले बताए ।
अनुगमनमा ८ जना पछि १२ जना भारतिय नागरिक हुनुमा केहि दिन अगाडी मात्रै मोथियाही हुदै सोही मस्जिदमा आएको हुन सक्ने वडाध्यक्ष चौधरीले बताए । उनले भने “अघि कम पछि धेरै भन्ने हुदैन ।, यिनीहरु उतैबाट आएकाले पछि थपिएको हो ।”
कोरोना संक्रमितसँगै अन्य मुस्लिमहरु पनि मस्जिदमा जाने आउने गर्नुको साथै स्थानीय चियापसलमा खुल्ला रुपमा स्थानीयहरु सरह चिया खाने गरेको गरेको स्थानियबासीहरुले बताएका छन् । स्थानीयबासीका अनुसार उनीहरु चैत्रको पहिलो हप्तादेखि नै चिया खान आउने जाने गरेको बताएका छन् । सम्बन्धित निकायलाई पहिला नै जानकारी गराएपनि खासै चासो नदिएकाले यस्तो भएको स्थानीयको आरोप छ ।
गत मंगलबार नुरी मस्जिदमा रहेका १२ भारतिय सहित १६ जनाको स्वव नमुना संकलन गरि कोशी अस्पताल विराटनगर पठाएको थियो । हिजो शुक्रबार आएको रिर्पोटमा ११ जना भारतिय र १ नेपालीमा कोरोना संक्रमण पुष्टि भएपछि १२ जनालाई कोशी अस्पतालको आईसोलेशन लगिएको छ । त्यस्तै ४ जनालाई मोरङको टाँडी क्वारेन्टाईनमा राखिएको छ ।
सार्वजनिक यातायातमा सवार र कार्यक्रममा सहभागी भएको अनुमान गरिएको छ । उनीहरु नगर भित्रका अन्य मस्जिदहरुमा गएको आशंका गरिएको सुरक्षा अधिकारीले बताएका छन् । उनीहरु सवार सवारी साधन र सहभागि भएको कार्यक्रमहरुको खोजी गर्न जरुरी छ ।