विराटनगर । लकडाउनमा मोरङको उत्तरी क्षेत्रको वनमा काठको तस्करी हुने गरेको पाइएको छ । मोरङको उत्तरी क्षेत्रका वनहरूमा तस्करीमा संलग्न गिरोहले लकडाउनको फाइदा उठाउँदै काठको चोरी तस्करी गरिने गरेको पाइएको हो । मोरङको केराबारी गाउँपालिका – ७ मा रहेको लाटीझोडा साझेदारी वन भित्र काठ तस्करी गर्ने क्रममा शनिबार साझ एक जना पक्राउ परेका छन् ।
सव डिभिजन वन लाटीझोडा र सशस्त्र वन रक्षक सलकपुरको संयुक्त टोलीले काठको तस्करी गरेको आरोपमा केराबारी ७ का ४१ वर्षिय रोबिन कुमार घिमिरेलाइ पक्राउ गरेको हो । घिमिरेलाई वन रक्षकहरूले काठ तस्करी गरिने क्रममा रंगेहात पक्राउ गरिएको केराबारी सव डिभिजन कार्यालय प्रमुख विक्रम आमात्यले बताए । ‘लकडाउनको फाइदा उठाउँदै लाटीझोडा साझेदारी वनमा काटको तस्करी हुने गरेको गोप्य सूचना आएको थियो,’ उनले भने, ‘वन रक्षक र सशस्त्र वन रक्षक सलकपुरबाट खटिएको टोलीले ५ सय मिटर लखेटेर तस्करीमा संलग्नलाई पक्राउ गरिएको हो ।’ काट तस्करीमा ५÷६ जनाको समुह भएपनि अन्य मोटसाइकलमा फरार भएको सब डिभिजन प्रमुख आमात्यले जानकारी दिए ।
घिमिरेलाई अन्यले छोडेर फारर भएपछि वन रक्षकहरुले लखेटेर समातेका हुन् । उनीहरूले कर्मा जातको ३८.५० क्यूफिट काठ जंगल भित्र चिरानी गरि तस्करी गरिने क्रममा वन रक्षकहरुले पक्राउ गरेको लाटिझोटा साझेदारी वनका अधिकृत दिवस चौधरीले जानकारी दिए । पक्राउ परेका घमिरे यस अघि पनि अपराधिक क्रियाकलपामा संलग्न रहेको पाइएको छ । पक्राउ परेका घिमिरेलाई वन ऐन २०७६ अन्र्तगत कारबाहीको प्रक्रिया अगाडी बढाउने डिभिजन वन कार्यालयले जनाएको छ । मोरङमा १ सय ३४ सामुदायिक, ४ साझेदारी र १२ वटा धार्मिक वन रहेको डिभिजन वन कार्यालय मोरङका प्रमुख (डिएफु) बिशाल घिमिरले जानकारी दिए ।
यी वन मध्ये उत्तरी क्षेत्रको चारकोशे वन क्षेत्रमा काठको चोरी तस्करी र वन्यजन्तुको सिकार बढेको घिमिरले बताए । उनका अनुसार गत २१ चैतमा सुन्दरहरैचा नगरपालिका स्थित लोहन्द्रा केराबारी साझेदारी र सलकपुर सामुदायिक बनको मध्य भागको वन क्षेत्रमा सिकारी र वन रक्षक बिच गोली हानाहान भएको थियो । लकडाउनको मौका पारेर बन्यजस्तुको तस्करी गरिने केराबारी गाउँपालिका ८ आमजुङ्गीका ३५ वर्षीय गम्बरबहादुर जोगी, २७ वर्षीय किसन कार्की र झापा बुद्धशान्ति ३ का किरण धिमाललाई पक्राउ परेका थिए । सिकारीले आफ्नो बचाउमा ९ राउन्ड गोली चलाएका थिए भने गस्तीका संयुक्त टोलीले जवाफी ७ राउन्ड हवाई फायर गरेको थिए । पक्राउ परेको ३ जनाको साथमा २ नाल भरुवा बन्दुक, २ सय ग्राम बारुद र केही छर्रा बरामद भएको थियो । लकडाउनले गर्दा वन क्षेत्रमा काट र बन्यजस्तुको चोरी तस्करी गरिने प्रवृद्धि बढेर गएको डिभिजन वन कार्यालय प्रमुख घिमिरले बताए ।
‘लकडाउनले गर्दा अहिले गाउँहरूमा कामहरू हुने गरेको छैन । बेरोजगार केही मान्छेहरू वन क्षेत्रमा गएर अपराधिक क्रियालकपमा संलग्न भएका छन्,’ उनले भने, ‘अहिले पछिल्लो समय वन क्षेत्रमा चोरी तस्करी बढेर गएपछि हामीले नियमित गस्तिलाई बढुवा दिएका छौंं ।’ क्याप्सन् बरामद भएको काट र पक्राउ परेका रोबिन कुमार घिमिरे ।