भण्टाबारी । उदयपुरमा एकैदिन १२ जना कोरोना संक्रमित भेटिएपछि सुनसरी प्रहरीले सतर्कता बढाएको छ । उदयपुर जिल्लाको एक मस्जिदमा बसेका १२ जना जमातीमा कोरोना संक्रमण पोजेटिभ पाइएपछि सुनसरीसहित प्रदेश नम्बर १ का सबै जिल्लाहरुमा प्रहरीले थप कडाइ गरेकाे हाे ।
नयाँ संक्रमित भेटिएपछि शुक्रबार राती नै माइकिङ गर्दै सुनसरी प्रहरीले किराना पसल,सागसब्जी,लगायत अत्यावश्यक सामाग्री अनुमति बिना किनमेल गर्न रोक लगाएको जनाएको छ । भारतसँग सीमा जोडिएका कारण संबेदनसिल मानिएको सुनसरीमा थप सतर्कता अपनाउदै कोरोना संक्रमण रोकथाम गर्न लकडाउनमा कडाइ गरेको सुनसरी प्रहरीले जनाएको छ । सीमा क्षेत्रका साथै जिल्लाका मुख्य स्थानहरुदेखि ग्रामीण क्षेत्रसम्म लकडाउनमा थप कडाइ गरिएको जिल्ला प्रहरी कार्यालय सुनसरीका डिएसपी तथा प्रवक्ता बिनोद शर्माले जानकारी दिए ।
छिमेकी जिल्लामा एकैसाथ १२ जना कोरोना संक्रमित व्यक्ति भेटिएकोले शनिबारबाट लकडाउनमा थप कडाइ गरिएको बताउदै डिएसपी शर्माले घरमै सुरक्षित साथ बसेर सहयोग गर्न आग्रह गरे । प्रहरीको आग्रहलाई बेवास्ता गर्दै सडक निस्किने व्यक्तिलाई क्वारेन्टाइन पठाइने सुनसरी प्रहरीको भनाइ छ । शनिबारबाट सुरक्षाकर्मी र स्वास्थ्यकर्मीबाहेक अन्य सवारीसाधन आवतजावतमा पूर्ण रोक लगाउने डिएसपी शर्माले बताए ।
यसैबीच मस्जिद खाली गराउन नेपाल मुस्लिम संघ प्रदेश नम्बर १ ले मुस्लिम समुदायलाई अपिल गरेको छ । प्रदेश नम्बर १ मा कतै कुनै जमाती फसेको भए त्यसबारे स्थानीय प्रहरीलाई खबर गर्दै मस्जिद खाली गराउन मुस्लिम संघले आग्रह गरेको हो ।
मस्जिद,मदरसा र होस्टेलमा आवश्यक कर्मचारी,एमाम र मोअज्जीन बाहेक अरुलाई खाली गराउन मुस्लिम संघ प्रदेश नम्बर १ का सभापति हाजी इस्राइल मंसुरीले आग्रह गरेका छन् । मस्जिद खाली गराउदै सरकारले जारी राखेको लकडाउन पूर्ण पालना गर्न तथा घरमै नमाज पढ्न उनले आग्रह गरे ।