बिर्तामोड । आर्मी हुँ भन्दै प्रदेश नम्बर १ भरिका किराना ब्यवसायीलाई ठगी गरेको अभियोगमा पक्राउ परेका झापाको भद्रपुरका राजकुमार राउत जेल चलान भएका छन् । ठगी अभियोगमा पक्राउ परेका राउत अदालतले तोके बमोजिमको धरौटी बुझाउन नसकेपछि जेल चलान भएका हुन् ।

‘म आर्मी हु, ब्यारेकमा मेसको काम गर्छु, मेसमा किनेको सामानहरु विक्री गर्नु छ, म सामान सस्तोमा दिन्छु भन्दै किराना पसल सञ्चालकहरूलाई प्रलोभनमा पारी राउतले रकम माग्ने गरेका थिए । सस्तोमा सामान पाइने भनेपछि किराना पसलेहरूले पनि राउतलाई रकम दिने गरेको पाइएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता महेन्द्र श्रेष्ठले बताए ।

राउतले आफूलाई पाँचवटा फरकफरक नाममा चिनाउने गरेको प्रहरीको भनाइ छ । कसैलाई प्रदीप कार्की, कसैलाई राजन काफ्ले त कसैलाई दुर्गा कार्की नाम बताउने गरेको प्रवक्ता श्रेष्ठले बताए । ४६ वर्षीय उनले केही स्थानमा रामकुमार राउत भनेर समेत परिचय दिने गरेको प्रहरीको भनाइ छ ।

भद्रपुर नगरपालिका–१० मिलनचौकमा घर भएका राउतले झापा चारआलीका डाकबहादुर राईलगायत धुलाबारी, बिर्तामोड, भद्रपुरसमेत गरी १० जनालाई जम्मा ५७ लाख ८६ हजार ठगी गरेको उजुरी दर्ता भएको झापाका एसपी कृष्ण कोइरालाले बताए । कोइरालाका अनुसार झापा जिल्ला अदालतको शुक्रबारको आदेशले ६२ लाख ५० हजार धरौटी माग गरेको थियो ।

राउतले अदालतको आदेश बमोजिम धरौटी राख्न नसकेपछि कारागार चलान भएका हुन् । राउतमाथि मोरङ, सुनसरी, उदयपुर, धनकुटालगायतका विभिन्न जिल्लाहरूमा समेत मुद्दा दर्ता भएको प्रहरीले जनाएको छ । राउतलाई झापा प्रहरीले चैत ६ गते पक्राउ गरेको थियो ।