ताप्लेजुङ/ताप्लेजुङमा शुक्रवार ७५ थान व्यक्तिगत सुरक्षा उपकरण (पीपीइ) आइपुगेको छ । कैलाश एयरको हेलिकप्टरमार्फत पीपीइसहितका स्वास्थ्य सामाग्री ताप्लेजुङ आइपुगेको हो ।
कोरोना नियन्त्रण तथा व्यवस्थापन जिल्ला समितिका संयोजक एवम् जिल्ला समन्वय समिति प्रमुख घनेन्द्र मादेनका अनुसार एनआरएनए कोरियाले पठाएको २५ थान कोरियन पीपीइ र पुतली सहयोग योजनाले पठाएको ५० थान नेपाली पीपीइसहितका सामग्री ताप्लेजुङ सदरमुकाम फुङ्लिङ आइपुगेको हो । यस्तै पुतली सहयोग योजनाले मास्क र पञ्जा पनि पठाएको छ ।
सो सामग्रीलाई आज बस्ने कोरोना नियन्त्रण तथा व्यवस्थापन जिल्ला समितिको बैठकले आवश्यकताअनुसार जिल्लाका स्वास्थ्य संस्थामा वितरण गर्ने संयोजक मादेनले बताए । यसैबीच ताप्लेजुङ्बाट ५ सय थान र्यापिड डाइग्नोस्टिक टेष्ट (आरडीटी) किट माग गरिएको छ । माग अनुसारको किट ताप्लेजुङ ल्याउने तयारी भइरहेको मादेनले जानकारी दिए ।
५० जनाको आरडीटीबाट परीक्षण, सबै नेगेटिभ
यसैबीच चैत यता भारतसहित तेस्रो मुलुकबाट ताप्लेजुङ आएका ६१ जनाको ¥यापिड डाइग्नोस्टिक टेस्ट (आरडीटी) किटबाट वैशाख ३ गतेबाट परीक्षण सुरु भएको छ ।
वैशाख ५ गतेसम्म ४९ जनाको आरडीटी गरिएको हो । सबैको रिर्पोट नेगेटिभ पाइएको जिल्ला अस्पतालका प्रमुख डा. सोनिङ लामाले बताए । फुङलिङ नगरपालिकामा २५ जना, मेरिङ्देन गाउँपालिकामा १५, पाथीभरा याङ्वरक गाउँपालिकामा ६ र फक्ताङ्लुङ गाउँपालिकामा ४ जना गरी ५० जनाको आरडीटी गरिएको हो । शुक्रबार पाथीभरा याङ्वरक गाउँपालिकाका ६ जनाको परीक्षण गरिएको ल्याव असिस्टेन्ट विनिता थाम्सुहाङ्ले बताइन् । यता थुम्बेदिनको क्वारेन्टाइनमा रहेका एकजनाको भने केही दिनमा परीक्षण गर्ने योजना छ । शनिबार (भोलि) सिदिन्वा गाउँपालिकामा र सोमबार मिक्वाखोला गाउँपालिकामा परीक्षण गर्ने योजना रहेको कोरोना नियन्त्रण तथा व्यवस्थापन जिल्ला समितिका संयोजक मादेनले जानकारी दिए ।
८ जापानीज काठमाडौं फर्किए
शुक्रबारनै ८ जना जापानीज नागरिकलाई काठमाडौं पठाइएको छ । पर्यटक आफैँले सवारी साधन व्यवस्थापन गरेको र प्रशासनले संम्बन्धित मन्त्रालयसँग समन्वय तथा अनुमति लिएर काठमाडौं पठाएको हो । उनीहरू कंञ्चनजङ्घा बेसक्याम्प घुम्न आएका थिए । पटकपटक गरी विदेशी पर्यटकलाई जिल्लाबाट पठाइएको प्रमूख जिल्ला अधिकारी डोरेन्द्र निरौलाले बताए ।