धनकुटा । धनकुटा बहुमुखी क्याम्पसमा बिबिएस प्रथम वर्षमा अध्ययनरत एक छात्रा बिहिबार बिहान मृत अवस्थामा फेला परेकी छन् । प्रहरीले सो घट्नामा संलग्न भएको आशंकामा एक जना युवालाई नियन्त्रणमा लिएको छ ।

धनकुटा जिल्लाको छथरजोरपाटी -१ माक्लुङ्ग हात्तिखर्क घर भएकी वर्ष १८ की वर्षा तामाङ आफ्नै घर नजिकैको अम्लिसो घारीमा रहेको दुदिलोको रुखमा झुण्डिएको अवस्थामा फेला परेकीछन् ।

मृत फेला परेका वर्षाका बुबा सुजन तामाङ (मोहन) का अनुसार बुधबार बिहान देखी हराएको छोरी एक्कसी बिहिबार बिहान ११ बजे आफ्नै घर नजिकै भुण्डिएको अवस्थामा फेला परेको बताए । बुधबार बिहान बारीमा काम गरिहेको छोरी दिउँसो १२ बजेसम्म पनि नआएपछि खोजतलास गर्दा समेत साँझ पनि नभेटिएपछि बिहबार बिहान खोजि गर्ने क्रममा झुण्डिएको अवस्थामा मृत भेटिएको तामाङले बताएका छन् ।

तामाङले आफ्नो छोरी वर्षासँग धनकुटा नगरपालिका वडा नं.२ भिरगाउँ घर भएका वर्ष २४ का प्रदिप तामाङको माया प्रेम रही रहेको मोवाइलको म्यासेन्जरमा कुराकानीले खुलेको बताए । तिनै प्रदिप तामाङको टचरको कारण आफ्नी छोरीको आत्महत्या नभई हत्या भएको वर्षाका बुबा सुजन तामाङले दावी गरेका छन् । निज तामाङ र आफ्नी छोरी विच मोबाईलमा भएको अडियो र म्यासेन्जरमा भएको कुराकानीले घट्ना हुनुमा भिरगाउँ घर भएका प्रदिप तामाङको हात रहेको दावी वर्षाको बुबाको छ ।

वर्षाको बाजे नगेन्द्र स्याङ्गबोले पनि घट्ना शंकास्पद भएकाले निज प्रदिप तामाङविरुद्ध प्रहरीमा आवश्यक अनुसन्धानको लागि किटानी जाहेरी दिने बताए । मृत अवस्थामा भेटिएकी छात्रा वर्षा वेपत्ता भएकी दिन भिरगाउँ घर भएका युवक प्रदिप पनि उनको घर पुगेको बताइएको छ । घट्नामा संलग्न भएको आरोप लागेको प्रदिप तामाङलाई भने हिले प्रहरी चौकीले नियन्त्रणमा लिएर आवश्यक अनुशन्धानको लागि जिल्ला प्रहरी कार्यालय धनकुटा पठाएको इन्चार्ज कुमार ढकालले ब्लाष्टखबरलाई बताएका छन् ।

उता धनकुटा बहुमुखी क्याम्पसका प्रमुख होमबहादुर बस्नेतले आफ्नो क्याम्पसमा बीबीएस् प्रथम वर्षमा अध्ययनरत छात्रा वर्षा तामाङको निधन प्रति दुःख व्यक्त गर्दै हार्दिक श्रद्धाञ्जली व्यक्त गरेका छन् । उनले घट्नाको विषयमा सत्य–तथ्य वाहिर आउनु पर्नेमा जोड दिएका छन् ।