काठमाडौं  / अमेरिकामा विभिन्न तरिकाले बसोबास गर्दै आएका नेपालीहरुमा कोभिड–१९ को स‌ंक्रमण देखा परेको छ । हालसम्म एक नेपालीको अमेरिकामा मृत्युभएको छ । करिब ५०० कोरोना भाइरसबाट सङ्क्रमित भएको जनाइएको छ । अमेरिकामा रहेका नेपाली कति सङ्क्रमित भएका छन् भन्नेबारे आधिकारिकरूपमा भने कतै सार्वजनिक भएको छैन् ।

अमेरिकामा रहेको नेपाली दूतावासले नेपालीलाई कुनै समस्या परेको खण्डमा सम्पर्क गर्न भन्दै विभिन्न टेलिफोन नम्बर दिएको छ भने दूतावासको वेबसाइटमा एउटा फर्मसमेत राखिएको छ । अमेरिकाका लागि नेपालका राजदूत डा अर्जुन कार्कीले अमेरिकामा पर्यटन वा अन्य प्रयोजनका लागि भ्रमणमा आएका नेपालीलाई विषम परिस्थितिमा उत्पन्न समस्या र भिसालगायतको विषयमा सम्बोधनका लागि अमेरिकी सरकारसमक्ष आवश्यक प्रक्रियाका लागि कूटनीतिक पत्राचार गरेको बताएका छन् । अमेरिका भ्रमणमा रहेका कतिपय नेपालीको भिसाको म्याद सकिएको र उनीहरुमा ‘ओभरस्टे’ हुने हो कि भन्ने आशङ्का रहेको छ ।