राजविराज /  सप्तरीमा कोरोना भाइरस (कोभिड–१९) को लक्षण देखिएकी एक महिला आइसोलेसनमा राखिएको छ ।
भारतको राजस्थानबाट दुई साता अघि कञ्चनरुप नगरपालिकास्थित घर आएकी महिलाको स्वाब परीक्षण गर्न धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको छ ।
४० वर्षीया ती महिलालाई राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालको आइसोलेसनमा शनिवार नै राखिएको हो । उनका पतिलाईसमेत निगरानीमा राखिएको अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट डा. चुमनलाल दासले जानकारी दिए ।
सप्तरीमा यस अघि विदेशबाट आएका ९ जनाको स्वाब परीक्षण गरिएकोमा सबैको रिपोर्ट निगेटिभ आएको थियो । अस्पतालमा सञ्चालित फिभर क्लिनिकमा हालसम्म एक सय १६ पुरुष र ९२ जनाको स्वास्थ्य परीक्षण गरिएकोमा ४५ जनालाई क्वारेन्टाइनमा राखिएको डा. दासले जानकारी दिए ।