विराटनगर । प्रदेश १ सरकारले कोरोना संक्रमित(कोभिड १९) को उपचार गर्ने कोरोना विशेष कोशी अस्पताल तयार भएको छ ।
विराटनगरस्थित नेशनल ट्रेडिङको भवनमा १० शय्याको भेण्टिलेटर वार्डसहितको ५० शय्याको अस्पताल निमार्ण
पुरा भएको प्रदेश सरकारलेजनाउको छ ।

चैत ७ गते मुख्यमन्त्री शेरधन राईको अध्यक्षतामा बसेको प्रदेश स्तरीय कोरोना रोकथाम तथा उपचार निर्देशक समितिको बैठकले नेशनल ट्रेडिङको पुरानो भवनलाई कोरोना अस्पतालको रुपमा विकास गर्ने निर्णय गरेको थियो ।

सोहि निर्णय अनुसार १० वटा भेन्टीलेटरसहित ५० बेडको अस्पताल संचालनमा आएको हो । अस्पतालको मुख्यमन्त्री शेरधन राई, आन्तरिक मामिला तथा कानुन मन्त्री हिक्मतकुमार कार्की, सामाजिक विकास मन्त्री जिवन घिमिरेले शुक्रबार अनुगमन गरेका थिए । कोरोनाको संक्रमण रोेकथाम र नियन्त्रणका लागि प्रदेश सरकार सचेत भएर अगाडी बढीरहेको मख्यमन्त्री राईले बताए ।

विश्वमा माहामारीका रुपमा फैलिएको कोरोना भइरसको संक्रमणबाट प्रदेशबासीलाई बचाउँने अभियानमा प्रदेश सरकार रहेको भन्दै मुख्यमन्त्री राईले सरकारले गर्नुपर्ने तयारीका सबै काम गरिरहेको बताए ।
प्रदेश सरकारले विज्ञ चिकित्सकहरुको टोली गठन गरेर विभिन्न अस्पतालमा काम गर्ने स्वास्थ्यकर्मी, विशेष अस्पतालमा काम गर्ने स्वास्थ्यकर्मी र एम्बुलेन्स चालकका लागि चाहिने फरक फरक खालका स्वास्थ्य सुरक्षाका समाग्रीको र त्यसको आपुर्तीका लागि अध्ययन गरिरहेको बताए। यस्तै क्वारेन्टाइनमा रहेकाहरुको सुरक्षा र खाने बस्ने व्यवस्था सरकारले मिलाएको उनले जानकारी दिए।
उनले अहिलेसम्म प्रदेशमा कसैलाई यसको संक्रमण नदेखिए पनि प्रदेश नं १ उच्च जोखिममा रहेको बताउँदै यसबाट बच्न उच्च सावधानी र सर्तकता अपनाउन सबै नागरिकलाई अपिल गरे ।
१० बेडको भेन्टीलेटर सहित ५० वेडको अस्पतालमा विरामीको चाप बढेमा ७० जनासम्म राख्न सकिने कोशी अस्पतालकी प्रमुख डा संगिता मिश्रले बताइन् ।
कोरोना संक्रमणको प्रभाव नियन्त्रणमा आइसकेपछि पनि उक्त केन्द्रलाई अन्य स्वास्थ्य उपचार गरिने सामाजिक विकास मन्त्री घिमिरेले बताए । उपचारमा खटिने स्वास्थ्यकर्मीहरुकालागि व्यक्तिगत स्वास्थ्य सुरक्षा र बिमा गरिने छ । साथै अतिरिक्त भत्ताको समेत व्यवस्था गरिने मन्त्रालयले जनाएको छ ।
आइसियु र भेन्टिलेटर सहितको सुविधा रहेको उक्त अस्पतालले कोरोना प्रमाणीत भएर सिफारिस भएका बिरामीहरुको मात्रै उपचार गर्ने मन्त्रालयले जनाएको छ ।