भद्रपुर । मेची अञ्चल अस्पताल भद्रपुरको आइसोलेसन वार्डमा उपचारार्थ तीन जनामध्ये एकै परिवारका बुबाछोराको कोरोना सङ्क्रमण रिपोर्ट नेगेटिभ आएको छ ।

भद्रपुर नगरपालिका ३ साविक महेशपुर गाविसका बाबुछोराको थ्रोट स्वाब रिपोर्ट नेगेटिभ आएको अस्पतालका मेसु डा. पीताम्बर ठाकुरले जानकारी दिए । ज्वरो र रुघाखोकी आएपछि बुबाछोरा शनिबार बिहान मेची अस्पताल भर्ना भएका थिए । उनीहरूको थ्रोट स्वाब परीक्षणका लागि अस्पतालले सोमबार मात्र पठाएका थियो । धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पठाएको परीक्षण रिपोर्ट बुधबार दिउँसो आएको डा. ठाकुरले बताए । तीन जनामध्ये दुई जनाको रिपोर्ट आएको छ भने एक जनाको रिपोर्ट आउन बाँकी रहेको उनले जानकारी दिए ।

एकै परिवारका आठ सदस्यमध्ये बुबाछोरा आइसोलेसनमा भर्ना भएका थिए, भने अन्य ६ जनालाई कलवलगुरी प्रशिक्षण केन्द्रको अस्थायी क्वारेन्टाइनमा पठाइएको थियो । डेढ महिनाअघि उनका जेठो छोरा कतारबाट फर्किएपछि उनीहरूको परिवारमा ज्वरो र रुघाखोकी देखा परेको थियो । अहिले परिवारका सबै सदस्यको अवस्था सामान्य रहेको जनाइएको छ । यसअघि मेचीको आइसोलेसनमा भर्ना भएका भद्रपुरका एक र गौरदाहका एक जनाको रिपोर्ट नेगेटिभ आइसकेको छ ।