भण्टाबारी । सुनसरीको कोशी गाउँपालिकाले विश्वभर फैलिएको कोरोना संक्रमण रोकथामका लागि सक्रियता देखाएको छ । कोशी गाउँपालिकाका अध्यक्ष ऐयुब अन्सारीका अनुसार गाउँपालीकाले प्रत्येक वार्डका स्वास्थ्यकर्मीलाई मंगलबार कोरोना भाइरस रोकथाम र उपचारका लागि अत्यावश्यक सामाग्री वितरण गरेको छ ।

कोशी गाउँपालिकाका ८ वटै वार्डका स्वास्थ्यकर्मीलाई स्वास्थ्य संस्थामा व्यक्तिगत सुरक्षा उपकरण (पीपीई ), सर्जिकल मास्क, सेनिटाइजर, स्वास्थ्यकर्मीलाई आवश्यक पर्ने ग्लााेव्स लगायत बिरामी उपचार गर्न स्वास्थ्यकर्मीलाई आवश्यक पर्ने सामाग्री वितरण गरेको अध्यक्ष अन्सारीले जानकारी दिए ।

प्रत्येक वार्डका वार्ड अध्यक्षको उपस्थितिमा स्वास्थ्यकर्मीलाई अत्यावश्यक सामाग्री हस्तान्तरण गर्दै कोरोना भाइरस विरुद्ध सुरक्षा र सावधानी अपनाएर लाग्न निर्देशन दिएको अन्सारीले बताए । भारतसँग सीमा जोडिएका कारण सुनसरीको कोशी गाउँपालिका कोरोना संक्रमण फैलिन सक्ने सम्भावना भएकोले त्यस अनुसार तयारी गर्न आफू लागिपरेको उनको भनाइ छ । स्वास्थ्यकर्मीका साथै कोरोना भाइरस संक्रमित व्यक्ति भेटिएमा त्यसको लागि कोशी गाउँपालिकाले एम्बुलेन्स र चालक समेत तयारी अवस्थामा राखेको बताएको छ । संकटको समयमा सबै एकजुट भएर लाग्नुपर्नेमा जोड दिदै अध्यक्ष अन्सारीले सरकारले जारी राखेको लकडाउन अनुशासित भएर पाल्न गर्न आग्रह गरे ।