उहान, चीन / चीनमा कोरोनाभाइरसबाट सर्वाधिक असर पारेको उहान शहरमा सोमबारदेखि मानिसको निर्वाध आवागमन शुरु भएको छ । भाइरस संक्रमण तिब्र रुपमा फैलिएसँगै उहानमा झण्डै दुई महिनासम्म दशौं लाख मानिस घरभित्रै बस्न बाध्य भएका थिए ।

स्थानीय सरकारले हुबे प्रान्तको राजधानी उहान सहित प्रान्तका सबै सानाठूला शहर बजारमा लगाइएका सबैजसो प्रतिबन्धहरु खुला गरेको छ । उहान शहरको मुख्य सपिङ सडकमा दुई महिनापछि पुगेकी एक महिलाले अत्यन्त उत्साहित हुँदै भनिन्, “म अब पसलमाथि बदला लिन चाहन्छु ।” तैपनि शहरमा विगतको तुलनामा ग्राहकको संख्या भने नगण्य नै देखिएको छ । सडकमा हिँड्ने र पसलमा आइपुग्ने ग्राहकलाई मास्क लगाएका पसलेहरुले स्वागत गरिरहेका देखिन्छन् ।

उनीहरुले प्रत्येक ग्राहक र बटुवालाई निश्चित दूरी बनाएर हिँड्न र कुराकानी गर्न आग्रह गरिरहेको दृश्य सबैतिर देख्न सकिन्छ । तिनैमध्येकी उत्साही एक ग्राहक हुन् स्थानीय शिक्षिका । गत जनवरी २३ तारिखदेखि नै उहानमा लकडाउन गरिएपछि उनीजस्ता झण्डै एक करोड १० लाख मानिस घरभित्रै बस्न बाध्य भएका थिए ।