धरान । दैनिक ज्यालादारी गरेर जीविकोपार्जन गर्दै आएका परिवारहरूलाई ‘लकडाउन’ ले समस्यामा पारेको भन्दै धरान–१४ वडाबासीले खाद्यान्नलगायत वितरण गर्ने भएका छन् ।

धरान–१४ का वडाध्यक्ष कृष्ण भट्टराईको संयोजकत्वमा लकडाउनको अवधिभरि ज्यालादारी गरेर जीविकोपार्जन गर्दै आएका परिवारलाई खाद्यान्न लगायत सहयोग गर्ने भएको हो । वडाका १४ जना अग्रजहरूले बिहीबार निर्णय गर्दै खाद्यान्नलगायतका अतिआवश्यकीय सामग्री सहयोग गर्ने डा. राजेन्द्र शर्माले जानकारी दिए ।

उनका अनुसार सहयोग गर्ने टोलीमा शर्मासहित अरुण पोखरेल, उषा खतिवडा, विश्वराज खनाल, गायत्रा रेग्मी, सुमन बाँस्कोटा, उपेन्द्र श्रेष्ठ, श्याम श्रेष्ठ, इन्दु तुम्बाहाङ्फे, सन्तोष सापकोटा, अफिसर फुँयल र मणिसुन्दर खत्री रहेका छन् । वडाध्यक्ष भट्टराईले यसको संयोजन गरिरहेका छन् । विभिन्न दाताहरूबाट सङ्कलन गरेर वडाभरिमा रहेका दैनिक ज्यालादारी गर्ने र अति विपन्न परिवारको पहिचान गरेर खाद्यान्नलगायतका सामग्री सहयोग गरिने भएको छ । यो अभियान लकडाउनको अवधिभरि रहने छ ।