खाँदबारी । संखुवासभा जिल्लाको मादी नगरपालिका क्षेत्रमा प्रवेश गर्नको लागि अग्रिम सूचना दिनु पर्ने भएको छ ।

कोरोनाभाइरस कोभिड १९ संक्रमण हुन नदिन यस्तो व्यवस्था गरेको हो । कुनै पनि व्यक्ति काम विशेषले मादी प्रवेश गर्नुपर्ने अवस्थामा नगर स्वास्थ्य कार्यालय प्रमुख सुरेशराज दाहाललाई खबर गर्नुपर्ने भएको छ ।

नगरपालिकामा दुई बेडको क्वारेन्टाइन निर्माण गरिएको छ । कोरोना संक्रमणबाट साबधानी अपनाउन क्वारेण्टाइन निर्माण गरिएको हो । नेपाल रेडक्रस सोसाइटी उपशाखा मादीको हलमा क्वारेण्टाइन निर्माण गरिएको प्रमुख प्रशासकीय अधिकृत गोरखनाथ मिश्रले बताए । अन्य स्थानमा थप उपचारका लागि लैजानु परेमा मादी स्वास्थ्य चौकीको एम्बुलेन्स र नगरपालिकाको गाडी तयारीका साथ राखिएको छ ।

यस्तै मादी छिर्ने नाकाहरुमा सेनिटाइजर छर्कने तयारी पूर्णरुपमा गरिसकिएको प्रमुख प्रशासकीय अधिकृत मिश्रले बताए । घरबाट अति आवश्यक काम बाहेक बाहिर नजान साथै संयमता अपनाउँदै सुरक्षित रहन मेयर विदुरकुमार लिङ्थेपले मादीबासीलाई आग्रह गरे ।

नगरपालिका र प्रहरिले मंगलबार नै नगरपालिकाका विभिन्न स्थानमा सचेतनाको लागि माइकिङ गरी सकिएको छ ।