धरान / कोरोना भाइरस (कोभिड–१९) को सङ्क्रमण फैलन नदिन धरान उपमहानगरपालिकाले विभिन्न ठाउँमा हेल्थ डेस्क राख्ने भएको छ । उपमहानगरपालिकाले ११ स्थानमा हेल्थ डेस्क राख्ने निर्णय गरेको छ ।
नेपाल सरकारको निर्णयलाई कार्यान्वयन गराउन बिहीबार उपमहानगरपालिकामा बसेको आकस्मिक बैठकले उक्त निर्णय गरेको हो । इलाका प्रहरी कार्यालय, इलाका प्रशासन कार्यालय, उपमहानगरपालिका, देउराली चोक, मङ्गलबारे चोक, रेल्वे, १५ नम्बर वडा कार्यालयलगायतमा हेल्थ डेस्क राख्ने पनि निर्णय गरेको छ ।

उपमहानरपालिकामा इलाका प्रशासन कार्यालय, इलाका प्रहरी कार्यालय, सशस्त्र प्रहरीलगायतको उपस्थितिमा भएको बैठकले सरकारको निर्णयको आधिकारिक पत्र पाएपछि बन्द गराउने भनिएका ठाउँहरूमा पनि अनुगमन गरेर बन्द गराउने निर्णय पनि गरेको छ । इलाका प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक ढुण्डीराज न्यौपानेले कोरोना (कोभिड–१९) सङ्क्रमण, रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिले गत बुधबार सिनेमा हल, मनोरञ्जनस्थल, डान्सबार तथा क्लबहरू, जीमहल, रङ्गशाला, खेलकुदस्थल, हेल्थ क्लबलगायतमा ३० अप्रिल २०२० सम्म बन्द गराउने निर्णय गरेकाले सोही निर्णयअनुसार धरानमा पनि सबै बन्द गराइने बताए ।

यसैगरी बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले चिकित्साशास्त्रका स्नातक तहका सबै पठनपाठन अनिश्चितकालका लागि स्थगित गरेको छ । कोरोना (कोभिड–१९) को सङ्क्रमण हुनसक्ने भन्दै अर्को सूचना जारी नभएसम्मका लागि प्रतिष्ठानमा सञ्चालित स्नातकका एमबिबिएस, बिडिएस, बिएमआइटी, बिएस्सी नर्सिङ, सबै पठनपाठन बन्द गरिएको सहप्रक्ता डा.अशोक ऐयरले बताए । उनका अनुसार प्रतिष्ठानका शैक्षिक डिन प्रोफेशर डा.चन्द्रभूषण झाले सूचना जारी गर्दै तत्कालका लागि चिकित्साशास्त्रको पठनपाठन बन्द गरिएको हो ।

उनले चिकित्साशास्त्रका स्नातकोत्तर तह अध्ययरत विद्यार्थीको हकमा भने पठन पाठन बन्द नगरिएको बताए । स्नातकोत्तर (एमडी) र त्यसभन्दा माथिका डिएमएमसिएच तहका विद्यार्थीहरू मेडिकल काउन्सिलमा रजिष्टर्ड चिकित्सकहरू हुने भएकाले उनीहरूको पठनपाठनलाई भने बन्द नगरिएको बताए ।

कारोना भाइरस सङ्क्रमण हुन नदिन सर्वसाधारणलाई अति जरुरी र सिकिस्त अवस्थामा मात्र अस्पताल आउन प्रतिष्ठानले आग्रह गरेको छ । भाइरस सङ्क्रमण हुने माध्यम अस्पताल पनि हुने भएकाले बिरामीको चापसँगै कुरुवाको भीड लगाएर उपचार स्थल नै असुरक्षित हुने भएकाले बिरामी भेट्न हुल बाँधेर नआउन पनि आग्रह गरेको सहप्रवक्ता डा.ऐयरले बताए |