धरान/ कोरोना भाइरस (कोभिड–१९) ले विश्वलाई नै आक्रान्त पारिरहेको छ । विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) ले यसलाई महामारीको रूपमा घोषणा गरिसकेको छ ।

कोरोना प्रभावलाई नियन्त्रणउन्मुख गर्नका लागि विश्व स्वास्थ्य सङ्गठनले विश्वका चर्चित सेलिब्रेटीहरूलाई मनोनयन गरेको छ । त्यसमा भारतीय फिल्म उद्योगका दुई नायिकालाई पनि मनोनयन गरेको छ ।

बलिउड नगरीका दीपिका पादुकोण र प्रियङ्का चोपडालाई मनोनयन गर्दै कोरोना भाइरसलाई नियन्त्रण गर्नका लागि आग्रह गरेको छ । डब्लुएचओले ट्वीटमार्फत् उनीहरूलाई आग्रह गर्दै भनेको छ, ‘हात धोएर सुरक्षित हुन आह्वान गर्दै भिडियोहरू शेयर गरिदिनुस् । ताकि कोभिड–१९ लाई हामी जित्न सकौं ।’

दीपिका र प्रियङ्का मात्रै नभई डब्लुएचओले हलिउडका कलाकार आर्नोल्ड स्वाजनेगरलाई पनि मनोनयन गर्दै यसरी नै आग्रह गर्न भनेको छ । डब्लुएचओले एकसाथमा गरे सबैकुरा सम्भव हुने उल्लेख गरेको छ । मनोनयन लगत्तै उनीहरूले पनि कोभिड–१९ को विश्वव्यापी सङ्क्रमणलाई ख्याल गर्दै त्यसका लागि सहयोग गर्ने ट्वीटमार्फत् जानकारी गराएका छन् ।

उनीहरूले हात मिलाउने भन्दा पनि ‘नमस्ते’ गर्नका लागि आग्रह गरेका छन् । एक–अर्कासँग दूरीमा रहनसमेत आग्रह गरिएको छ । सरसफाइमा विशेष ध्यान दिनका लागि डब्लुएचओले अनुरोध गरेको छ ।