पथरीशनिश्चरे । मोरङको पथरी शनिश्चरे नगर क्षेत्रका निजी स्वास्थ्य संस्थाहरुको लापरवाही फेला परेको छ । नगरको एउटा स्वास्थ्य संस्थामा मास्कको कालोबजारी भएको समेत भेटिएको छ ।
पथरीशनिश्चरे नगरपालिका कार्यालयको अगुवाईमा डाक्टर, प्रहरी, पथरी उद्योग वाणिज्य संघका प्रतिनिधि सहितको संयुक्त अनुगमन् टोलीले मंगलबार नगरका ६ वटा स्वास्थ्य संस्थामा अनुगमन् गर्दा ४ वटा संस्थामा गैर कानूनी अवस्था फेला परेको छ । ४ नम्वर वडाको शनिश्चरे बजारमा रहेको शनिश्चरे डाइग्नोष्टिक सेन्टरमा कागजको मास्क ३० रुपैयाँ गोटाले विक्री भइरहेको टोलीले फेला पारेको नगर उपप्रमुख एवम् अनुगमन् समिति संयोजक यमुना विष्ट वास्तोलाले जनाइन् ।
उनले स्वास्थ्य जस्तो संवेदनशील क्षेत्रमा लापरवाही नगर्न कडा चेतावनी दिइएको बताइन् । ‘बढीमा १० रुपैयाँमा विक्री गर्नुपर्ने र अन्यत्र १० रुपैयाँमा विक्री भइरहेको मास्क त्यहाँ ३० रुपैयाँ गोटा विक्री भएको पाइयो । त्यसरी कालोबजारी नगर्न चेतावनी दिएर सो मास्क बढीमा बेच्न रोकेका छौं ।’ उनले प्रष्ट्याइन् । सो सेन्टरले आफुले २५ रुपैयाँमा दमकबाट किनेर ल्याई ३० रुपैयाँमा विक्री गरेको कुरा गरेको थियो । अनुगमनपछि सो सेन्टर प्रोपाइटर आफैंले बन्द गरेर अन्यत्र लागेका थिए । टोलीको अनुगमन् आएको सुइको पाएपछि वडा नम्बर ९ तर्फ पर्ने शनिश्चरे हाटखोलाका २ वटा फार्मेसी आफैं बन्द गरेर सञ्चालक तत्काल सम्पर्क बिहीन बनेका थिए ।
त्यसैगरी, वडा नम्बर २ स्थित बुद्धचोकको सिटिजन फार्मेसीको दर्ताको कागजात फेला नपरेको र औषधि विक्री गर्ने पनि सम्बन्धित आधिकारिक व्यक्ति नरहेको पाइएको छ । त्यहाँ मास्क समेत सकिएको बताइएको छ । सञ्जुबाबु गुप्ताले सञ्जुबाबा मेडिकल हल नामक पसल वडा नम्वर १ र २ मा एकसाथ सञ्चालन भएको पाइएको छ । १ नम्वरको मन्दिर लाइनमा रहेको पसलमा मोहिनीराम चम्लागाईंको प्रमाणपत्र राखेर सम्बन्धित विषयमा अध्ययन नगरेकी गुप्ताकी श्रीमती पूजाकुमारीले औषधि बिक्री गरिरहेको फेला परेको छ । सञ्जुबाबु भनें २ नम्बरस्थित नगर अस्पताल नजिकै सोही नामको पसल सञ्चालन गर्न बस्ने गरेका छन् ।
१ नम्बर वडाको पथरी चोक उत्तरको शुभसंगीता फार्मेसीमा भनें धेरै प्रकारका औषधि म्याद सकिएको अवस्थाको फेला परेका छन् । त्यस्ता औषधि तत्काल फिर्ता गर्न सचेत गराइएको छ । दीर्घायू आयुर्वेदिक पसलमा केही मास्क रहेको र पथरी अस्पतालमा मास्क नभएको टोलीले बताएको छ । सञ्जुबाबामा पनि मास्क सकिएको पसलेले बताएका छन् । कोरोना भाइरसको संक्रमणबाट बच्ने एउटा उपायका रुपमा नाक र मुख छोप्न मास्क प्रयोग गर्नुपर्ने भएका कारण बजारमा मास्कको अवस्थाका बारेमा बुझ्न समेत अनुगमन् गरिएको थियो । अनुगमन् गरिएका स्वास्थ्य संस्थामा कोरोनाबाट बच्ने उपायका बारेमा जानकारी गराइएको फ्लेक्स प्रिन्ट झुण्ड्याउन नगरले प्रदान गरेको छ ।
उता, राष्ट्रिय युवा संघ नेपाल पथरीशनिश्चरेले एक विज्ञप्ति जारी गरी नगरमा मास्क लुकाएर कालोबजारी गर्ने कार्य नरोकिए कडा कदम चाल्न बाध्य हुने उल्लेख गरेको छ ।