धरान/ तेस्रो नेपाल राष्ट्रिय शारीरिक सुगठन प्रतियोगिताको उपाधि झापाका उमेश राईले जितेका छन् ।

एनाइनेट जिमको आयोजनामा शनिबार धरानको सभागृहमा सम्पन्न प्रतियोगितामा उपाधिसँगै उनले २ लाख ५० हजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाण–पत्र प्राप्त गरे । उनी ७५ प्लस केजी समूहबाट विजेता भन्दै ओभरअल राउण्डमा प्रवेश गरेका थिए । उनी ग्यालेक्सी फिटनेसका हुन् ।

ग्यालेक्सीले योसँगै तेस्रो पटक पनि उपाधि रक्षा गरेको हो । यसअघिका दुई प्रतियोगितामा पनि ग्यालेक्सीले नै जितेको थियो । रामबहादुर दाहाल पहिलो संस्करणका विजेता हुन् भने दोस्रो संस्करणमा ललित धामीले उपाधि जितेका थिए । प्रतियोगितामा रूपन्देहीका कृष्णप्रसाद श्रेष्ठ दोस्रो बनेका छन् । उनले नगद १ लाख रुपैयाँ पाए ।

ललितपुरको बलभैरव जिमका विनोद सुनार तेस्रो बनेका छन् । उनले नगद ५० हजार रुपैयाँ पाए । फिनिक्स फिटशालाका मनोज सुवेदी चौथो बन्दा ड्याजल जिम विराटनगरका प्रवीण राजवंशी पाँचौं बने । उनीहरूले क्रमशः नगद ४० हजार र ३० हजार रुपैयाँ पाए । एरो फिट्नेस, दमकका मदनकुमार योङ्हाङ छैठौं बन्दै नगद २५ हजार रुपैयाँ पाए ।

व्यक्तिगततर्फ मस्ट इम्प्रुभमेण्ट प्रवीण श्रेष्ठ बनेर नगद ५ हजार रुपैयाँ पाए । प्रतियोगितामा बेस्ट पोजर बिजेन्द्रमान श्रेष्ठ, इम्प्रुभिङ बडीमा सञ्जु लामाले जिते । विजेताहरूलाई धरान उपमहानगरका मेयर तिलक राई, आयोजक एलाइनेट जिमका सञ्चालक विक्रम लिम्बूलगायतले पुरस्कार वितरण गरेका थिए । प्रतियोगिताको प्रमुख निर्णायकमा शिवलाल श्रेष्ठ रहेका थिए । विजेता राई १४ औं धर्मश्रीमा ओभरअलमा तेस्रो बनेका थिए ।