भद्रपुर/ कोरोना भाइरसका कारण छिमेकी राष्ट्र भारतले आइतबार मध्यरात १२ बजेदेखि नेपाल र भुटानको सीमा नाका बन्द गर्ने समाचार बाहिरिएपछि जनमानसमा नाका ठप्प हुने हल्ला फैलिएको छ । आइतबार रातीदेखि झापाको सबै सीमा नाका बन्द हुने हल्ला आधिकारिक नभएको भारतीय एसएसबीले जनाएको छ ।

सीमा नाका बन्द गर्ने विषयमा हेड क्वाटर रानीडाँगाबाट कुनै आधिकारिक जानकारी नआएको एसएसबी ४१ बटालियन भातगाउँका कमान्डर अञ्जली राउतले बताइन् । नाका बन्द गर्नु अघि नै यस्तो जानकारी आइसकेको हुनु पर्ने बताउँदै आधिकारिक जानकारी आएपछि नेपालतर्फको सुरक्षाकर्मीसँग तत्काल सहकार्य गरिने उनले जनाइन् ।

गलगलिया बजार जाने पश्चिम बङ्गाल तर्फको सडक खण्डमा कोरोना भाइरसकै लागि दुई दिनदेखि खटिएका खोरीबारी थानाका पुलिसले भने नेपालबाट भारतीय बजार किनमेल गर्न गएका नागरिकलाई रोकेर आइतबारदेखि सीमा नाका बन्द हुने भ्रम फैलाइरहेको स्थानीय बताउँछन् । विहारतर्फ जाँदा कसैले यस्तो नबोलेको तर बङ्गलातर्फ पुलिसले रोकेर नाका बन्द हुने भएकोले नआउनु भनिरहेको उनीहरु बताउँछन् ।

झापाको सीमा नाका बन्द हुने विषयमा कुनै लिखित तथा मौखिक जानकारी नआएको सशस्त्र प्रहरी बल गण नम्बर २ का एसपी रेशमकुमार थक्सूले बताए । राखिएका हेल्थ डेक्सबाटमात्र आवत –जावतको व्यवस्था मिलाउन थप व्यवस्थित बनाइएको उनले जनाए ।

सोही विषयलाइ लिएर आइतबार विहान मेचीनगर नगरपालिका काँकडभिट्टामा बसेको सर्वपक्षीय वैठकले सीमा नाका थप व्यववस्थित गर्ने निर्णय भएको उनले जानकारी दिए । मानिस आवत–जावतमा नै ठप्प हुने गरी बन्द हुने भने नभएको उनले बताए । सीमा नाका बन्द हुने हल्ला मात्र भएको झापाका प्रमुख जिल्ला अधिकारी उदयबहादुर राना मगरले बताए । सीमा क्षेत्रका नाका थप व्यवस्थित गर्न सर्वदलीय वैठक वसेको उनले जनाए ।