धरान/ कोभिड–१९ सङ्क्रमण भएको आशङ्कामा आइसोलेसनमा राखिएका दुईमध्ये एकजनालाई डिस्चार्ज गरिएको छ ।

कोरोना भाइरस सङ्क्रमण भएको आशङ्का गरिएका बिरामीलाई बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानले पेइङ वार्डलाई हाल आइसोलेसन वार्ड बनाएको छ । एकसाताअघि नै उक्त आइसोलेसन वार्डमा हङ्कङबाट आएकी एक महिला र दक्षिण कोरियाबाट आएका एक पुरुष कोरोना भाइरसको शङ्कामा उपचारका लागि राखिएका थिए । प्रतिष्ठानका सह–प्रवक्ता डा.अशोक ऐयरले भने, ‘महिलाको रिपोर्ट नेगेटिभ देखियो ।

उनी निको भएर पनि डिस्चार्ज भइसकेकी छन् भने पुरुषको रिपोर्ट आइसकेको छैन । तर उनलाई मानसिक रोग भएको शङ्का गरिएको छ ।’ धरान–१० का ती पुरुष दक्षिण कोरियाबाट आएका हुन् । यसैबीच प्रतिष्ठानले शुक्रबार बिहानदेखि हेल्थ डेस्क राख्ने भएको छ भने सबै विभागको फ्याकल्टीलाई आठ–आठ घण्टाको ड्युटी पर्ने गरी हेल्थ डेस्क र आइसोलेसन वार्डमा पालोे गरेर २४ सै घण्टा खटाउने निर्णय भएको छ ।

प्रतिष्ठानको कोरोना ¥यापिड रेस्पोन्स कमिटीका सदस्य अस्पतालका सहायक निर्देशक डा. विकास साहले भने, ‘कोरोना सङ्क्रमणबाट बच्न प्रतिष्ठानको जनरल ओपिडी अगाडि र इमर्जेन्सीमा आउने बिरामीको ‘ट्राभल हिस्ट्री’ अनुसार इन्फ्रारेड थर्मामिटरले ज्वरो नापेर शङ्का लागेमा आइसोलेसन वार्डमा राखेर उपचार गर्ने निर्णय भएको छ ।’

यसैगरी शङ्कास्पद व्यक्तिलाई क्वारेण्टाइनमा बसाउन प्रतिष्ठानभित्रको निर्वाणा कण्ट्री क्लबको १० वटा भवन प्रयोग गर्न सकिने प्रस्ताव धरान उपमहानगर पालिकाका प्रमुख तिलक राईले राखेका छन् । चिकित्सकहरूले कोरोनाबाट बच्न साबुन पानीले नियमित हात धुनु पर्ने, मास्क लगाउनु पर्नेमा जोड दिएका छन् ।