धरान/ विश्वव्यापी रूपमा बढ्दै गइरहेको कोरोना भाइरस सङ्क्रमणको कारण फिल्म ‘नीरफूल’ को रिलिज स्थगित भएको छ । यसअघि घोषणा भएको चैत ७ गते फिल्म रिलिज नहुने निर्माण टिमले विज्ञप्तिमार्फत् जनाएको छ ।

सञ्चारकर्मी तथा कवि फूलमान बलको निर्देशन रहेको ‘नीरफूल’ को हालै ट्रेलर रिलिज गरिएको थियो । स्थिति सामान्य भएपछि नयाँ प्रदर्शन मिति घोषणा गरिने बताइएको छ । महाभूकम्पमा बिछोडिएको एउटा परिवारको प्रेमकथा समेटिएको फिल्म सेलो प्रोडक्सनले निर्माण गरेको हो ।

फिल्ममा दयाहाङ राई, रेखा थापा, शान्ति वाइबा, बुद्धि तामाङ, पुष्कर गुरुङ, जिम्मे छ्योकी घिसिङ, राजन खतिवडा, सरोज अर्याल, सरिता गिरी, मानस राजलगायतले अभिनय गरेका छन् । फिल्मको पटकथा सचिन घिमिरे र निर्देशक बल स्वयम्ले लेखेका हुन् भने सचिन एशोसिएट निर्देशकको रूपमा पनि छन् ।