धरान / लिम्बु जातिको संस्कृतिमा आधारित फिल्म ‘के : साङ्ला’ धरानमा विशेष प्रदर्शनी गरिएको छ ।
लोकेन साँवाले निर्देशन गरेको ‘केः साङ्ला’ मा लिम्बु समुदायका युवा युवतीबीच हुने माया प्रेम र तानेर विवाह गर्ने प्रचलन प्रस्तुत गरिएको छ । च्याब्रुङ बजाउने गजो अर्थात के : साङ्लालाई मायाको प्रतिकका रुपमा प्रस्तुत गरिएको छ ।
तेह्रथुमे–धरान तुम्बाहाङ्फे समाजको आयोजना तथा याक्थुङ सिङ्गक फाउन्डेसन र आर स्क्वायर कलेक्सनको संयोजनमा धरानको गोर्खा सिनेप्लेक्समा सोमबार विहान भएको विशेष प्रदर्शनीमा अग्रज कलाकार तथा निर्देशक प्रेम सुब्बा, नृत्य निर्देशक गोविन्द राई, के : साङ्लाका निर्देशक लोकेन साँवा, फिल्मका नायक तथा निर्माता भीम तुम्बाहाङ्फेलगायतको उपस्थिति थियो । प्रदर्शनी कार्यक्रममा बोल्दै कलाकार प्रेम सुब्बाले लिम्बु भाषा र संस्कृतिमा बनेको के : साङ्लाले लिम्बु समुदायका नयाँ पुस्तालाई आफ्नो भाषा, संस्कृतिबारे सचेत गराउने बताए ।
फिल्ममा भीम तुम्बाहाङ्फे, लक्ष्मी योङ्हाङ, विशाल सेनेहाङ, सनम पहाङ्गो, कुमार लुम्फुङ्वा, मेनुका साउदेन, गङ्गा तुम्बाहाङ्फे, महिमा लिम्बू, तुलसा लिम्बू लगायतको अभिनय रहेको छ । फिल्मका सिनेम्याटोग्राफर भुपेन्द्र तुम्बाहाङ्फेले पनि अभिनय गरेका छन् । अशोक लोहोरुङ राइको पाश्र्व सङ्गीत रहेको फिल्ममा दिनेश माङ्मुको मुख्य सहायक निर्देशन र कोरियोग्राफी तथा मनु नेम्बाङ, यासेली योङ्हाङ , श्रेयसी चेम्जोङको स्वर रहेको छ । फिल्मको कथा पनि निर्देशक साँवाकै हो भने सम्पादन विपिन मल्लले गरेका हुन् ।
फिफरानी तुम्बाहाङ्फे, बिष्णुकुमार पङ्धाक, भिमकुमार तुम्बाहाङ्फे, सन्जयकुमार तुम्बाहाङ्फेको निर्माण मा चोक्फुङ इन्टरटेमेन्ट प्रालिको ब्यानरमा बनेको के : साङ्ला यसअघि नै हङकङ, भारतको आसामका विभिन्न ठाउँ, काठमाडौं र पाँचथरमा प्रदर्शन भईसकेको छ । लिम्बु समुदायको संस्कार, संस्कृतिबारे युवापुस्तालाई सचेत गराउन र अन्य समुदायलाई समेत जानकार गराउन के : साङ्लाको विशेष प्रदर्शनी गरिएको संयोजक मिना सिङ्गकले बताइन् ।