धरान/ बलिउड नायिका शिल्पा सेठ्ठीविरुद्ध ठगीको उजुरी परेको छ । उनीमाथि ठगीको उजुरी परेपछि अहिले उनका फ्यानहरू निराश बनेका छन् ।

शिल्पा र उनका श्रीमान् राज कुन्द्रासहित केही सहयोगीको नाममा प्रहरीमा उजुरी दर्ता भएको हो । तर, शिल्पाका श्रीमान् कुन्द्राले विज्ञप्ति जारी गर्दै आरोपलाई ठाडै अस्वीकार गरेका छन् । उनीहरूमाथि सुन खरिदबिक्रीमा ठगीको आरोप लागेको हो ।

यो आरोप पुष्टि भएमा उनीहरूले हर्जाना तिर्नुपर्ने हुन्छ । उनीहरूमाथि गैरआवासीय भारतीय नागरिक सचिन जोशीले प्रहरीमा अभियोग दर्ता गरेका हुन् । मुम्बइको खार पुलिस थानामा जोशीले उजुरी दर्ता गरेका हुन् । राज कुन्द्राको नाममा रहेको सतयुग गोल्ड प्रालिले आफूलाई ठगी गरेको उनले उजुरीमा उल्लेख गरेका छन् ।

जोशीले उजुरीमा उल्लेख गरेअनुसार सन् २०१४ मा सतयुगबाट करिब १८ लाख ५८ हजार रुपैयाँ भारुमा सुन खरिद गर्ने योजना रहेको थियो । क्रमिक रूपमा सुन उपलब्ध गराउनु पर्ने भनी गरिएको सहमतिअनुसार उपलब्ध नभएपछि उजुरी दर्ता गर्नुपरेको उनले उल्लेख गरेका छन् । स्मरणरहोस् शिल्पा र राजले सन् २०१६ र २०१७ मा कम्पनीको निर्देशकबाट राजीनामा बुझाइसकेका छन् । यस विषयमा प्रहरीले अनुसन्धान गरिरहेको जनाएको छ ।