संखुवासभा (ब्लाष्ट) संखुवासभा जिल्लाको सिलिचोङ गाउँपालिका वडा नं. १, २ र ३ मा सेवा दिईरहेको विद्युत सेवा ६ दिनदेखि अवरुद्ध रहेको छ ।

शिसुवा खोला लघु जलविद्युत आयोजना मार्फत सेवा सञ्चालन गरिरहेको विद्युत सेवा बन्द भएको हो । पावर हाउस जाने कुलो भत्किएको कारण सेवा अवरुद्ध भएको हो ।

चौंरीखर्कबाट तेयुङ जाने सडक टूयाक ओपन गर्ने क्रममा ढुङ्गा खसेर कुलो भत्काएको हो । करिब ७ मिटर कुलो भत्किएको कारण पानी आपुर्ती नभएपछि पुर्ण रुपमा विद्युत सेवा बन्द भएको हो । भत्किएकै दिनदेखि मर्मत कार्य सुरु भएको सिलिचोङ २ का वडाध्यक्ष मोहन सम्सेर कुलुङले बताए । उनका अनुसार ५ दिनभित्रमा कुलो मर्मत गरेर विद्युत पुनः सुचारु गर्ने भनिएता पनि अझै कुलो सम्पन्न नभएकोले सेवा सुचारु हुन सकेको छैन ।

२०६७ सालमा निर्माण भएको ६० किलोवाट विद्युतले सिलिचोङ गाउँपालिकाको ३ वटा वडाको ७०० घरधुरीलाई धानेको छ । विद्युत आपुर्ति नभएपछि स्थानीयलाई समस्या भएको छ । खान, बस्न तथा सञ्चार सेवा समेत अवरुद्ध भएको स्थानीय आशेष मेवाहाङले बताए । गाउँका घरहरुमा मिलमा धान कुट्न नपाएको कारण चामल समेत सकिएको उनले बताए । मोवाइलमा चार्ज गर्न नपाएकोले गाउँका सबैको मोवाइल ५ दिनदेखि बन्द छ । कसैसंग सहज रुपले सम्पर्क हुन सकेको छैन ।

विद्यार्थीहरु लाई पढ्न समेत समस्या भएको स्थानीय रनमाया मेवाहाङले बताए । परिक्षा नजिकएको समयमा विद्युत नभएको कारण विद्यार्थीको पढाईमा समेत असर भएको हो । चाँडो कुलो बनाएर सेवा सञ्चालन हुने विजुली व्यवस्थापन समितिका अध्यक्ष खेमराज मेवाहाङले बताए । उनका अनुसार १० जनाले लगातार काम गरिरहेको र अब चाँडै विद्युत सेवा सञ्चाल हुने छ ।