धरान/ फिल्म ‘छ माया छपक्कै’ का निर्देशक दीपेन्द्र लामाको नयाँ फिल्म ‘२ नम्बरी’ मा भुटानी अभिनेत्रीले अभिनय गर्ने भएकी छन् ।

भुटानी फिल्म निर्मात्री, अभिनेत्री तथा निर्देशक उगेन छोदेनले यो फिल्मबाट नेपाली फिल्ममा डेब्यू गर्न लागेकी हुन् । यही फागुन २८ गतेबाट छायाङ्कनमा जान लागेको फिल्ममा उनको जोडी अभिनेता दयाहाङ राईसँग बाँधिनेछ ।

बिहीबार राजधानीमा पत्रकार सम्मेलन गर्दै निर्माण टिमले उगेन छोदेन फिल्ममा भित्रिएको जानकारी गराएको हो । निर्देशक लामाले फिल्ममा उनी भुटानी नागरिककै भूमिकामा रहने बताए ।

अभिनेत्री उगेनले नेपाली फिल्ममा अभिनय गर्ने अवसर पाउनु आफ्नो लागि सौभाग्यको कुरा रहेको बताइन् । भुटानमा विदेशी फिल्म प्रतिबन्ध भए पनि युट्युबमार्फत् नेपाली फिल्म हेर्ने गरेको उनको भनाइ छ ।

अभिनेता दयाहाङले उगेनसँग स्क्रिन शेयरगर्न आफू उत्साहित रहेको बताए । दुई साथीको कथामा बन्ने ‘२ नम्बरी’ को कथा निर्देशक लामाकै हो । अर्को वर्षको जनै पूर्णिमामा प्रदर्शन हुने फिल्ममा बुद्धि तामाङको पनि अभिनय रहनेछ । रोहित कट्टेल र सरोज नेपाली निर्माताको रूपमा रहेको फिल्मको प्रस्तुतकर्तामा किरण नेपाली छन् । रत्न श्रेष्ठ फिल्मको कार्यकारी निर्माता हुन् ।