इनरुवा/ होली पर्व आउनलाई केही दिन मात्र बाँकी रहको बेला सुनसरीमा खसीबोकाको मुल्य अकासिएको छ ।
सुनसरी सदरमुकाम इनरुवा सहित आसपास क्षेत्रमा होली पर्वलाई लक्षित गरेर खसी बोकाको मूल्य अकासिएको छ भने बिक्री वितरणसमेत बढेको स्थानीयहरूले बताएका छन् । तराई तथा मधेश क्षेत्रमा हर्ष उल्लास पूर्व मनाउने होली पर्व आउनलाई केही दिन बाँकी रहेको बेला सुनसरीमा खसीबोकाको कारोबारसमेत बढेको हो । सुनसरीका स्थानीय हाटबजारमा खसीबोका किन्ने र बिक्री गर्नेहरूको चहलपहल बढेको पाइएको छ ।
सुनसरीमा लाग्ने बिहीबारे हाटिया, सोमबारे, मधुवन हाट तथा ग्रामीण क्षेत्रमा लाग्ने विभिन्न हाट बजारमा खसीबोका किन्ने र बिक्री गर्नेहरूको सङ्ख्या बढ्दै गएको स्थानीय डुमरलाल मेहताले बताए ।
होली पर्वका लागि मासु खानका लागि स्थानीयहरूले खसी बोका खरिद गर्ने भएकाले यसको बिक्री वितरणमा वृद्धि भएको स्थानीय व्यापारीहरूले बताएका छन् । सुनसरी सदरमुकाम इनरुवामा लागेको बिहीबारे हाटमा मात्रै एक दिनमा एक हजारभन्दा बढीको सङ्ख्यामा खसीबोका खरिदबिक्री भएको स्थानीय व्यापारीहरूले बताएका छन् ।
सुनसरीसहित सप्तरी र सिराहा तथा काठमाण्डौका समेत व्यापारीहरू यहाँ आउने भएकाले खसीबोकाको कारोबारमा वृद्धि भएको व्यपारीहरूको भनाइ छ ।
केही किसानहरूले भने भारतीय खसीबोका अवैध रूपमा भित्रिएका कारण आफूहरूले खसीबोकाको उचित मूल्य नपाएको गुनासो समेत गरेका छन् । खसीको बोकाको कारोबारमा वृद्धि भएसँगै यसको मूल्यमा समेत वृद्धि भएको स्थानीय उपभोक्ता चन्दन मेहताले बताए । सुनसरीमा अहिले खसीको मासु ८ सय ५० रुपैयाँ प्रतिकिलोमा बिक्री वितरण भइरहेको छ ।