कोरोना भाइरसको प्रभाव नेपाली फिल्म क्षेत्रमा समेत पर्न थालेको छ । बिहीबार राखिएको फिल्म ‘म यस्तो गीत गाउँछु २’ को पत्रकार भेटघाट कार्यक्रमसमेत रोकिएको छ ।

विशेष कारण देखाएर निर्माण युनिटले फिल्मको कार्यक्रम स्थगित गरेको हो । कोरोनाको कारण हलसम्म दर्शक नआएपछि फिल्म चलाउने नचलाउने बारे छलफलका लागि कार्यक्रम रोकिएको चर्चा छ ।

यही फागुन ३० गतेबाट प्रदर्शनमा आउने भनिएको फिल्ममा पल शाह, पूजा शर्मा, हरिहर शर्मा, दिनेश डिसी, राजा राजेन्द्र पोखरेल, सोनिका रोकायलगायतका कलाकारको अभिनय रहेको छ ।

सुदर्शन थापाको निर्देशन रहेको फिल्म अभिनेत्री पूजा र निर्देशक सुदर्शनले नै मिलेर बनाएका हुन् । फिल्ममा बनिष शाह र मिलन श्रेष्ठको सम्पादन, सौरभ लामाको छायाङ्कन छ ।

नेपाल चलचित्र निर्माता सङ्घले पनि विज्ञप्ति जारी गर्दै कोरोनाको जोखिमबाट बच्न र सतर्कता अपनाउन छायाङ्कन भइरहेका फिल्महरू राज्यबाट अर्को सूचना जारी नहुञ्जेलसम्मका लागि स्थगन गर्न आग्रह गरेको छ ।