विराटनगर /  नेपाल विद्यार्थी संघ मोरङका पूर्वसभापति मोरङ रङ्गेली नगरपालिका – ३ का ४२ वर्षीय गोपाल सेढाईं विरूद पक्राउ पूर्जी जारी भएको छ ।
अदालतको विचाराधिन रहेको सामूहिक बलात्कारको मुद्दा मिलाइदिने भन्दै अभियुक्तको आफन्तबाट ७ लाख २५ हजार रूपैयाँ लिएर ठगी मुद्दामा मुछिए पछि मोरङ अदालतले जिल्ला प्रहरी कार्यालय मोरङलाई पक्राउ गरि अनुसन्धान गर्न अनुमति दिएको हो । उनी हालसम्म फरार छन् । उनको खोजी कार्य भइरहेको मोरङ प्रहरीका प्रवक्ता डिएसपी मानबहादुर राईले बताए । ठगी मुद्दामा सेढाइ विरूद्ध सोमबार अदालतबाट पक्राउ पूर्जी जारी डिएसपी राईले बताए ।
जवरजस्ती करणीको मुद्दा मिलाइदिने भन्दै अभियुक्तका आफन्तलाई ठगी
अदालतमा पहुँच राम्रो रहेको भन्दै बलात्कार आरोपी ६ जनासँग पैसा लिएर ठगी गरेको घटनामा सेढाईं मुछिएका हुन् । जवरजस्ती करणीको मुद्दा मिलाइदिने भन्दै अभियुक्तका आफन्तबाट रकम लिएर ठगी गरेको आरोपमा प्रहरीले मोरङको रंगेली नगरपालिका–३ का ५६ वर्षीय श्रीमत मरन्डीलाई पक्राउ गरेपछि सो प्रकरणमा सेढाईंको पनि संलग्नता खुलेको हो । प्रहरीले मरन्डीलाई पक्राउ गरि सोमबार जिल्ला अदालत मोरङमा ठगी मुद्दामा पाँच दिनको म्याद थप गरेर अनुसन्धान सुरू गरेको डिएसपी राईले बताए । सामूहिक बलात्कारको मुद्दा मिलाइदिने भन्दै श्रीमतसँग मिलेर सेढाईंले पैसा असुलेको पाइएको प्रहरीले जनाएको छ ।
श्रीमतीसँग मिलेर सेढाइले प्रतिवादीहरूका अभिभावक सोम मरन्डीबाट १ लाख ४० हजार, पती हस्दाको छोरा बाबुलाल हस्दाले १ लाख ४०, होप्पन टुढुको छोरा विक्रमले १ लाख ६० हजार, सुनिल मरन्डीका बावु साइलाले १ लाख ६० हजार, बाहा मुर्मुको श्रिमान सोमले १ लाख २५ हजार गरि जम्मा ७ लाख २५ हजार रूपैयाँ दिएको उनीहरूले दिएको जाहेरीमा उल्लेखछ । दैनिक बनि बुत्तो गरि गुजुरा चलाउने उनीहरूले १० प्रतिशत ब्याजदरमा ऋण लिएर पाँच जना प्रतिवादीका अभिभावले उक्त रकम श्रीमतको घरमा पु¥याएदिएको उनीहरूको भनाई छ ।
मोरङको धनपालथान गाउँपालिकाकी १५ वर्षीया किशोरी माथि २०७५ जेठ १५ गते १० बजे राति सामूहिक बलात्कार भएको थियो । विवाहमा जन्ती आएकी किशोरीलाई रङ्गेली नगरपालिका ३ का २० वर्षीय सोरेन भन्ने सुरेन्द्र मरन्डी, सोही ठाउँका २४ वर्षीय तल्लु मर्मु, २३ वर्षीय बबु भन्ने प्रगान सतार, २३ वर्षीय डुडुङ भन्ने सोमलाल हेमरम, २२ वर्षीय बोईलर भन्ने सुनिल मरन्डी र २३ वर्षीय सुरेन्द्र टुडुले बलात्कार गरेको भन्दै प्रहरीले सरकारी वकिलको कार्यालयमार्फत अदालतमा दायर गरेको थियो ।
पीडितले जाहेरी दिएलगत्तै इलाका प्रहरी कार्यालय रङ्गेलीले प्रतिवादीलाई पक्राउ गरेको थियो । इप्रका रंगेलीले अनुसन्धान पूरा गरेपछि मोरङ अदालतमा मुद्दा दायर गरेको थियो । सामूहिक बलात्कारको सो घटनामा अदालतले २०७५ जेठ १२ गते प्रतिवादीहरुलाई पुर्पक्षको लागि थुनामा राख्न आदेश दिएको थियो ।
न्यायाधीश किशोर घिमिरेको इजलाशले गत माघ १९ गते उनीहरुलाई बलात्कार प्रयास गरेको भन्दै जनही ३ वर्ष ६ महिना कैदको सजाय तोकेको थियो । पैसा तिरेपछि आरोपीहरु छुट्ने विश्वासमा रहेका आफन्तहरु अदालतले कैद तोकेपछि सेढाईंसँग पुगेका थिए । सेढाईंले उल्टै धम्की दिएपछि उनीहरुले अदालतमा गएर न्यायाधीसलाई भेटेर गुनासो गरेका थिए । अदालतले ठगीमा परेको भए प्रहरीमा जान सुुझाएपछि उनीहरुले जाहेरी दिएका हुन् ।
गोपाल सेढाईको फोटो छ ।