बिर्तामोड । इलाका प्रहरी कार्यालय अनारमनीले झापाको बिर्तामोड बसपार्कबाट ३५ ग्राम ब्राउन सुगर सहित ६ जनालाई पक्राउ गरेको छ । प्रहरीले बिर्तामोड बसपार्कमा रहेको मेची माउण्ट होटलको कोठाबाट ब्राउन सुगर सहित त्यसको कारोबारमा संलग्न ६ जनालाई पक्राउ गरेको हो ।
प्रहरीले फाल्गुनन्द गाउँपालिका–४ पाँचथरका सञ्जु चेम्जोङ, समिर लिम्बु, सोही गाउँपालिका–३ का बिवेक तामाङ्ग, अर्जुनधारा नगरपालिका–६ झापाका रोशन गुरुङ, देउमाई नगरपालिका–२ इलामका सन्तोष तामाङ्ग र फिदिम नगरपालिका–१३ पाँचथरका दिपेन लिम्बुलाई पक्राउ गरेको हो ।
पक्राउ परेकाहरुबाट ३५ ग्राम ब्राउन सुगर, ६ थान मोवाइल र ५५ हजार रुपैंयाँ नगद बरामद भएको इप्रका अनारमनीका डिएसपी मुकुन्द रिजालले जानकारी दिए । उनले पक्राउ परेका अभियुक्तमाथि म्याद थप गरेर अनुसंधान भइरहेको बताए । प्रहरीका अनुसार सो परिमाणको ब्राउन सुगर बरामद भएका अभियुक्तलाई ५ देखि १० बर्षसम्म जेल सजाय हुने छ ।
अनारमनी प्रहरीले पुष मसान्तदेखि यो अवधिमा बिर्तामोड इलाकाबाट १८ जना ब्राउन सुगर कारोबारी पक्राउ गरेको जनाएको छ । उनीहरुबाट ११६ दशमलब ६ सय ग्राम ब्राउन सुगर बरामद भए को रिजालले बताए । पछिल्लो समयमा अन्य लागूऔषध भन्दा ब्राउन सुगरको कारोबार उच्च रहेको झापा प्रहरीको तथ्यांकमा उल्लेख छ ।