लक्ष्मीमार्ग/ बेलबारी–११ लक्ष्मीमार्गको माउण्ट एभरेष्ट इङ्लिस स्कुलले मङ्गलबार एक कार्यक्रम गरी विद्यार्थीहरूलाई पुरस्कृत गरेको छ ।

वर्षको उत्कृष्ट विद्यार्थी सुन्दर अलीलाई नगद १० हजार रुपैयाँले पुरस्कृत गरिएको छ । त्यस्तै प्रकृति भेटवाललाई नगद ७ हजार, धीरेनकुमार गुरुङलाई ५ हजार रुपैयाँले पुरस्कृत गरिएको हो । डान्सिङ आइडलतर्फ खुस्बु खाती प्रथम बनेकी छन् । त्यस्तै मल्लिका कार्की दोस्रो बन्दा स्मृति तामाङ तेस्रो बनेकी छन् ।

उनीहरूले क्रमशः नगद ९, ७ र ५ हजार रुपैयाँ पुरस्कार प्राप्त गरे । सिङ्गिङ आइडलतर्फ रोहन सुन्दास प्रथम, महेन्द्र तामाङ दोस्रो र उपमा राई तेस्रो बने । उनीहरूले ८ हजार, ६ हजार र ४ हजार रुपैयाँ पाए । यसैगरी उत्कृष्ट शिक्षकतर्फ प्रि–प्राइमरीतर्फ निर्मला न्यौपाने, निमावितर्फ भीम अधिकारी, मावितर्फ नवीनकुमार राई, सक्रिय शिक्षक शङ्कर भण्डारी, उत्कृष्ट स्टाफ केशरकुमार गुरुङ र सक्रिय स्टाफ सूर्य अधिकारीलाई पुरस्कृत गरियो ।

उनीहरूलाई जनही ५ हजार रुपैयाँले पुरस्कृत गरियो । भाग्यशाली चिठ्ठाअन्तर्गत अभिभावकहरू रिमिशा चौधरी, सुस्मिता बस्नेत, निरु राई, भीममाया राई, दामोदर भण्डारी पुरस्कृत भए । उनीहरूलाई पनि नगदले पुरस्कृत गरिएको विद्यालयका प्रिन्सिपल जगतबहादुर बस्नेतले जानकारी दिए ।

कार्यक्रममा प्रदेशसभा सदस्य राजकुमार ओझा, प्याब्सन मोरङका अध्यक्ष अर्जुन बस्नेत, कोषाध्यक्ष तथा माउण्ट एभरेष्टका प्रिन्सिपल जगतबहादुर बस्नेत, विद्यालय व्यवस्थापन समिति अध्यक्ष बलबहादुर मगरलगायतले पुरस्कार प्रदान गरेका थिए ।