विराटनगर/ अदालतमा विचाराधीन रहेको मुद्दामा कैद सजाय कम गरिदिने भन्दै ठगीधन्दा चलाउने गिरोह सक्रिय रहेको पाइएको छ । मोरङ अदालतमा विचाराधीन रहेको जबरजस्ती करणी मुद्दामा कैद सजाय कम गराइदिने भन्दै ठगी गर्ने गिरोह सक्रिय रहेको पाइएको हो ।

मोरङ प्रहरीले जबरजस्ती करणी मुद्दामा कैद सजाय कम गरिदिने भन्दै ७ लाख २५ हजार रूपैयाँ लिएर ठगी गरेको आरोपमा एक जनालाई पक्राउ गरेपछि यस्तो रहस्य बाहिर आएको हो । प्रहरीले मोरङको रङ्गेली नगरपालिका–३ का ५६ वर्षीय श्रीमत मरण्डीलाई पक्राउ गरेको मोरङ प्रहरीका प्रमुख एसपी विश्व अधिकारीले जानकारी दिए । पक्राउ परेका मरण्डी र फरार रहेका अर्का एक व्यक्तिले अदालतमा विचाराधीन रहेको जजक मुद्दामा कैद सजाय कम गराइदिने भन्दै ६ जना प्रतिवादीको आफन्तबाट ७ लाख २५ हजार रूपैयाँ लिएको प्रहरीलाई दिएको जाहेरीमा उल्लेख छ ।

मोरङको धनपालथान गाउँपालिकाकी १५ वर्षीया एक किशोरीलाई ६ जनाले २०७५ जेठ १५ गते १० बजे राति सामूहिक बलात्कार गरेका थिए । रङ्गेली जन्ती आएकी ती किशोरीलाई रङ्गेली नपा–३ का २० वर्षीय सोरेन भन्ने सुरेन्द्र मर्डी, सोही ठाउँका २४ वर्षीय तल्लु मर्मु, २३ वर्षीय बबु भन्ने प्रगान सतार, २३ वर्षीय डुडुङ भन्ने सोमलाल हेमरम, २२ वर्षीय बोइलर भन्ने सुनिल मर्डी र २३ वर्षीय सुरेन्द्र टुडुले बलात्कार गरेका थिए । पीडितले जाहेरी दिएलगत्तै इलाका प्रहरी कार्यालय रङ्गेलीले प्रतिवादीलाई पक्राउ गरेको थियो । प्रहरीले अनुसन्धान पूरा गरेपछि अदालतमा मुद्दा दायर गरेको थियो । थुनछेक बहसपछि मोरङ अदालतले ०७५ जेठ १२ गते प्रतिवादी ६ जनालाई पुर्पक्षको लागि थुनामा राख्न आदेश दिएको थियो ।

प्रतिवादीहरू पुर्पक्षका लागि थुनामा विराटनगर कारागार गएपछि आफन्तसँग ठग गिरोहले कैद सजायमा कम गराइदिने भन्दै पैसा उठाएका थिए । पक्राउ परेका मरण्डी र अर्का एक जनाले आफ्नो पहुँच अदालतमा राम्रो रहेको भन्दै प्रतिवादीका आफन्तलाई आश्वस्त पार्र्दै रकम लिएको अनुसन्धान संलग्न एक प्रहरी अधिकृतले बताए । ठगीका मुख्य आरोपी फरार रहेकोले प्रहरीले नाम गोप्य राखेको छ । ६ जना प्रतिवादीसँग कैद सजाय कम गरिदिने भन्दै ७ लाख २५ हजार रूपैयाँ लिएको खुलेको छ ।

कैद तोकिएपछि ठगीको धन्दा खुल्यो
अदालतले कैद सजाय तोकेपछि ठगीधन्दा बाहिर आएको हो । मोरङ अदालतले जबरजस्ती करणी मुद्दामा थुनामा रहेका ६ जना प्रतिवादीलाई गत माघ १९ गते न्यायाधीश किशोर घिमिरेको इजलासले ३ वर्ष ६ महिना कैद सजायको फैसला सुनाएको थियो । प्रतिवादीलाई अदालतले कैद सजाएको फैसला सुनाएपछि अभियुक्तका आफन्त आफ्नो मान्छे नछुटेको भन्दै ठगीमा परेको चाल पाएपछि प्रहरीमा उजुरी दिएका थिए । उनीहरूले दिएको उजुरीको आधारमा मरण्डी पक्राउ परेका हुन् । पक्राउ परेका मरण्डीलाई सोमबार जिल्ला अदालत मोरङमा ठगी मुद्दामा म्याद थप गरी अनुसन्धान शुरू गरेको एसपी अधिकारीले जानकारी दिए ।