विराटनगर/ दशगजा क्षेत्रमा धान तौलन प्रयोग हुने काँटा राखेर जनप्रतिनिधिले नै तस्करी गर्ने गरेको पाइएको छ ।
मोरङको रतुवामाई नगरपालिका–१ का वडासदस्य मोहम्मद सदिर मियाँले नेपाल र भारतको दशगजा क्षेत्रमा धान तौलने काँटा राखेर चिनी तस्करी गर्ने गरेको पाइएको हो । उनको काँटा दशगजाछेउको रतुवामाई नगरपालिका–१ सोनापुरमा छ । ट्याक्टरमा अवैधरूपमा ल्याएको ५० बोरा चिनी आइतबार राति प्रहरीले बरामद गरेपछि उनको गोरखधन्दाको भेद खुलेको हो । मोरङ प्रहरीका प्रमुख एसपी विश्व अधिकारीले रतुवामाई नगरपालिका–१० भौडाहाबाट चिनी बरामद गरेको बताए ।
उनका अनुसार इलाका प्रहरी कार्यालय सिजुवाका इन्स्पेक्टर मोहन रायमाझीको टोलीले भारतबाट अवैध रूपमा भिœयाएको चिनी बरामद गरिएको थियो । अनुसन्धानका क्रममा चिनी बोकेको ट्याक्टर वडा सदस्य मियाँको रहेको खुलेको छ । मे.१ त ८७१६ नम्बरको ट्याक्टर दुर्घटना भएपछि अवैध रूपमा आयात गरिएको चिनी बरामद गर्न सफल भएको हो । तस्करीमा वडासदस्यको पनि संलग्नता रहेको प्रहरीले दाबी गरेको छ ।
वडासदस्य मियाँको फोन स्विचअफ गरी सम्पर्कविहीन बनेका छन् । ‘तस्करी धन्दामा लागेका गिरोहले निकै चलाखी गरेको देखियो’ इप्रका सिजुवाका इन्स्पेक्टर रायमाझीले भने, ‘तस्करीको चिनी लुकाउन माथिबाट १ सय ७ वटा बोरामा धान राखिएको पाइयो । चिनी मुनीबाट राखेर त्यसमाथि त्रिपालले छोपिएको थियो ।’
बिहानको राति चिनी भारतबाट अवैध रूपमा आयात गरी दशगजा क्षेत्रमा ल्याएर भण्डारण गर्ने र पूर्वी क्षेत्रमा विभिन्न शहरमा बिक्री गर्ने गरेको खुल्न आएको इन्स्पेक्टर रायमाझीको भनाइ छ । नेपालमा भन्दा भारतमा प्रतिकेजी करिब १५ रुपैयाँ सस्तो हुने भएकोले चिनीको तस्करी हुने गरेको हो ।
ट्याक्टर दुर्घटनाले चिनी फेला
रतुवामाई–१ सोनापुरबाट मे.१ त ८७१६ नं. को ट्याक्टरमा ल्याइएको चिनी आइतबार साँझ उर्लाबारीतर्फ लगिँदै गरेको अवस्थामा भौडाहा पुगेपछि दुर्घटनामा परेको हो । ट्याक्टरले विपरीत दिशाबाट आउँदै गरेको बा.२९ प ६८४५ नं. को मोटरसाइकललाई ठक्कर दिएको थियो ।
ठक्करबाट मोटरसाइकलमा सवार २ जना सडकमा ढलेर घाइते भए । ट्याक्टरको ठक्करबाट मोटरसाइकलमा सवार रतुवामाई नगरपालिका–६ का प्रकाश र खगेन्द्र भेटवाल घाइले भएका थिए । घाइते दुवैको विराटनगरस्थित न्यूरो अस्पतालमा उपचार भइरहेको इलाका प्रहरी कार्यालय सिजुवाले जनाएको छ । तस्करीको चिनी बोकेको ट्याक्टर सडकछेउमै छाडेर चालक फरार भएका छन् ।
ट्याक्टरको अगाडिको चक्का फुस्किएको छ । ‘दुर्घटना भएपछि तत्काल घटनास्थलमा पुगेका थियौं’ इन्स्पेक्टर रायमाझीले भने, ‘तस्करीको चिनी बरामद भयो ।’ प्रहरीले बरामद गरेको २५ क्विण्टल चिनी रहेको छ । प्रहरीले बरामद गरेको चिनी र ट्याक्टर गरी ७ लाख २३ हजार रुपैयाँ मूल्याङ्कन गरिएको छ । बरामद चिनी र ट्याक्टर मङ्गलबार विराटनगर भन्सार कार्यालयमा बुझाउने रायमाझीले जानकारी दिए ।