मिकाइल आलम

भण्टाबारी । उमेरका हिसाबले बिद्यालय जानुपर्ने कोशी गाउँपालीका वार्ड नम्बर १ लौकहीस्थित मुसहर बस्तीकी सोनुदेवी सदा १७ वर्षको उमेरमै ढेड वर्षीया बच्चाकी आमा बनिसकेकी छन् । १४ वर्ष कै कलिलो उमेरमा बिहे गरेकी उनी अहिले एउटा छोरीकी आमा बनेकी छन भने ८ महिनाकी गर्भवतीसमेत छिन् । सोही मुसहर बस्तीकी अन्नदी देवी ऋषीदेव १६ वर्षीया भइन ।

१३ वर्ष कै उमेरमा बिहे गरेकी उनी हाल २ वर्षीय छोराकी आमा छिन् । अन्नदीकी श्रीमान विकास ऋषीदेव दुई वर्षदेखि वैदेशिक रोजगारमा छन् । त्यसैगरी लौकही मुसहर बस्तीकै केली सदा १८ वर्षकै उमेरमा ढेड वर्षीया छोरी र एकमहिने छोराकी आमा हुन । उनको ४ वर्षअघि १३ वर्षकै उमेरमा बिहे भएको हो । सोनुदेवी, अन्नदी र केली सदा केही प्रतिनिधिपात्र मात्र हुन । कोशी गाउँपालीका मात्र होइन सुनसरी जिल्लाकै दलित बस्तीको अवस्था यस्तै छ । सरकारले विवाह गर्न महिलालाई कम्तीमा २० वर्ष पुग्नुपर्ने कानुन बनाएपनि ग्रामीण भेगमा बसोबास गर्ने दलित समुदायले १२ देखि १५ वर्षकै उमेरमा विवाह गरिदिने गरेका छन् । जिल्लाको इनरुवा नगरपालिका, हरिनगर गाउँपालीका,कोशी गाउँपालीका,देवानगंज गाउँपालीका,गढी गाउँपालीका, बर्जु गाउँपालीकामा रहेका दलित समुदायले कक्षा ६,७ र ८ पढ्ने उमेरमै छोरीको बिहे गरिदिने गरेका हुन् ।


सुनसरीको ग्रामीण क्षेत्रमा रहेका सदा,ऋषीदेव र मुखिया बस्तीमा अहिले बालविवाह गर्ने र किशोरी हुनासाथ सुत्केरी हुनेको कमी छैन । आफूले पढाएका धेरै विद्यार्थी किशोरी अवस्थमै आमा बनेको कोशी मावि हरिपुरका शिक्षक चत्रनारायण पाठक बताउँछन् । दलित अभिभावकले छोरीलाई जसोतसो कक्षा ८ सम्म बिद्यालय पढाएपनि त्यसपछि अधिकांशको बिहे गरिदिने गरेका छन् । ५ कक्षादेखि ७ कक्षासम्म दलित समुदायका बालिका अध्ययन गर्न आएपनि त्यसपछि धेरै नआउने गरेको शिक्षक पाठकले बताए । हाम्रोतिर यस्तै चलन छ १७ वर्षीया केलीले भनिन् प्रायःजसो सबैले बिद्यालय पढ्दापढ्दै मागी विवाह गर्छन् । कलिलो उमेरमै विवाह गरेपछि सन्तान जनाउने,घरपरिवार चलाउने र दैनिक हातमुख जोर्नकै लागि जीवन व्यतीत गर्ने गरेका छन् उनीहरू । जीवनको भाग्यरेखा कोर्ने उमेरमै विवाह गरिदिदा आमासँगै बच्चाको समेत शारीरिक अवस्था निकै कमजोर हुन्छ ।

दलित बस्तीमा परम्परागत चलनका कारण बालविवाह हुने गरेको कोशी गाउँपालीका वार्ड नम्बर १ कि दलित महिला सदस्य परासीदेवी सदा बताउँछिन् । अर्को तर्फ दुर्गममा आएर कसैले कानुनी ज्ञान् नदिने र कानुन मिच्नेलाई समेत कारबाही नहुने गरेकोले बालविवाह यथावत रहेको स्थानीय बुद्धिजीवीको भनाइ छ । यद्यपि २३ वर्ष पहिलाको तुलनामा अहिले अवस्थमा सुधार आएको वार्ड सदा परासीले दाबी गरिन् । स्थानीय तहले विभिन्न समयमा गर्दै आएको बालविवाह विरुद्धको चेतनामूलक कार्यक्रमले पहिलो तुलनामा अहिले सुधार आएको उनको भनाइ छ । बालविवाह न्यूनीकरण गर्न चेतनामूलक कार्यक्रम गर्दै आएपनि समस्या समाधान गर्न स्थानीय सरकारलाई चुनौती रहेको कोशी गाउँपालीका वार्ड १ का अध्यक्ष राजकुमार शाहको कथन छ ।

दलित समुदायमा सानै उमेरमा बिहे गर्नु प्रमुख कारण हो गरिबी । अभिभावकले छोरी मान्छेको बिहे गरिदिए पश्चात् व्ययभार कम हुने ठान्दै कलिलैमा जिम्मेवारी पुरा गर्ने चलन दलित समुदायमा यथावत छ । दलित समुदाय गरीबीका कारण कम उमेरमै विवाह गरिदिदै आएपनि पछिल्लो समयमा उल्लेख मात्रामा बालविवाहमा सुधार आएको कोशी गाउँपालीका अध्यक्ष ऐयुब अन्सारीले दाबी गरेका छन् । स्थानीय तहले गरेको चेतनामूलक कार्यक्रमहरुले दलित समुदायमा समेत कम उमेरमा बिहे गरिनु हुन्न भन्ने चेतनाको विकास भएकोले बालविवाहमा सुधार आएपनि शून्य अवस्था भने हुन नसकेको उनले बताए । उमेर नपुगेको जोडीको विवाह दर्ता नगर्न प्रत्येक वार्डमा आफूले निर्देशन दिएको अध्यक्ष अन्सारीको भनाइ छ ।