विराटनगर /  मोरङबाट निर्वाचत भएका प्रतिनिधि सभाका सदस्यहरूले ‘स्थानिय पूर्वाधार विकास साझेदारी कार्यक्रम’ मार्फत पूर्वाधार विकासको कामको बजेट मन्दिर र धर्मशाला निर्माण लगाएका छन् । परार्मश समितिमा प्राप्त परामर्शका आधारमा स्थानीय पूर्वाधार बिकास साझेदारी कार्यक्रम मार्फत मोरङमा योजना छनौट गरि संसदहरूले बजेट बिनियोजन गरिएका अधिकांश योजना मन्दिर र धर्मशाला निर्माणका लागि विनियोजन गरेको पाइएको छ ।
संघीय संसदका लागि मोरङमा ६ वटा निर्वाचन क्षेत्र रहेको छ । १७ स्थानिय तह रहेको मोरङमा प्रतिनिधिसभा सदस्यहरूले १ सय ६३ वटा योजना छनौट गरेका छन् । सांसदहरूले छनौट गरेको योजनाहरूमा धर्मशाला, मन्दिरको भवन निर्माण, धार्मिक भवन र मन्दिरको सामुदायिक भवन निर्माणमा पनि बजेट बिनायोजन गरेको छ ।
प्रत्येक निर्वाचन क्षेत्रका लागि प्रत्यक्ष निर्वाचित सांसदहरूले ल्याएका कार्यक्रममा खर्च गर्न सक्ने गरी ६ करोड रुपैयाँका दरले बजेट छुट्याएको छ । विगतमा सासंद विकास कार्यक्रमका नाममा खर्च हुने बजेटलाई गत आर्थिक वर्षबाट ‘स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रम’ नामाकरण गरिएको थियो । मोरङमा सबैभन्दा बढी ४ नम्बर निर्वाचन क्षेत्रमा योजना छनौट भएको छ । उक्त निर्वाचन क्षेत्रमा सांसद अमनलाल मोदीले ३३ वटा योजना छनौट गरि बजेट बिनायोजन गरेका छन् । सबैभन्दा कम योजना छनौट २ नम्बर निर्वाचन क्षेत्रमा रहेको छ । यस निर्वाचन क्षेत्रमा सांसद डा. मिनेन्द्र रिजालले २० वटा मात्र योजना छनौट गरि बजेट बिनायोजन गरिएको छ ।
कुन निर्वाचन क्षेत्रका कस्ता योजना ?
मोरङ क्षेत्र नं. १ बाट निर्वाचित भएका प्रतिनिधि सभासदस्य घनश्याम खतिवडाले २६ वटा योजना छनौट गरिएको मध्ये १७ वटा योजना सडक निर्माण सम्बन्धिका छन् । चार स्थानिय तह रहेको १ नम्बर निर्वाचन क्षेत्रमा जनही १ करोड ४९ लाख २५ हजार रुपैयाँ बजेट बिनायोजन गरिएको छ । उक्त निर्वाचन क्षेत्रमा सबैभन्दा बढी लेटाङ्ग नगरपालिकामा योजना छनौट छ । लेटाङ्गमा आठ वटा योजना छनौट गरि बजेट छुटयाएको छ ।
यस्तै निर्वाचन क्षेत्र नं. २ मा डा. मिनेन्द्र रिजालले २० वटा योजना छनौट गरि बजेट बिनायोजन गरिएको मध्ये ९ वटा सडक सम्बन्धी रहेको छ । पाँच वटा स्थानिय तह रहेको उक्त निर्वाचन क्षेत्रमा सुनवर्षी नगरपालिमा सबैभन्दा बढी योजना छनौट छ । सुनवर्षीमा आठ वटा योजना छनौट छ । सो निर्वाचन क्षेत्रमा ९ वटा सडक निर्माण सम्बन्धी योजनामा बजेट बिनायोजन गरिएको छ । बिनायोजन गरिएको योजना मध्ये पथरीशनिश्चरे नपा ६ स्थित गोलाबारी पश्चिम कुडामरिया वक्राहा खोलाको पूल निर्माणमा ४० लाख बजेट बिनायोजन गरेको छ ।
यसैगरि निर्वाचन क्षेत्र नं. ३ मा स्वास्थ्यमन्त्री भानुभक्त ढकालले २९ वटा योजना छनौट गरेका छन् । छनौट भएको योजनामा सडक निर्माण सम्बन्धी सात वटा रहेको छ । यस्तै विद्यालयको भवन निर्माण, धर्मशाला निर्माणको योजना पनि बजेट बिनायोजना गरिएको छ । उक्त निर्वाचन क्षेत्रमा सबैभन्दा बढी बेलबारीमा योजना छनौट छ । बेलबारीमा ९ वटा योजना परेको छ ।
यसैगरि ४ नम्बर निर्वाचनबाट निर्वाचित भएका संसद अमनलाल मोदीले ३३ वटा योजना छनौट गरि बजेट बिनायोजन गरिएको छ । मोदीले मन्दिरको सामुदायिक भवन निर्माणमा पनि बजेट बिनायोजन गरेका छन् । ग्रामथान गपा १ स्थित महादेव मन्दिर सामुदायिक भवन निर्माणमा १० लाख रुपैयाँ बजेट बिनायोजन गरेको छ । मोदीले विभिन्न सामुदायको भवन निर्माणमा २० वटा योजना छनौट गरि बजेट बिनायोजन गरेका छन् ।
यस्तै ५ नम्बर निर्वाचन क्षेत्रबाट निर्वाचत भएका संसद शिवकुमार मण्डलले ३० वटा योजना छनौट गरि बजेट बिनायोजन गरिएको छ । मण्डलले यस निर्वाचन क्षेत्रमा मन्दिरको भान्साघर निर्माणमा पनि बजेट बिनायोजन गरिएको छ । जहदा गाउँपालिका १ स्थित नेपाल सतमत संघको मन्दिरको भान्सा निर्माणमा १० लाख रुपैयाँ बजेट बिनायोजन गरेको छ । यस निर्वाचन क्षेत्रमा चार वटा मन्दिर निर्माणमा ४० लाख ९० हजार रुपैयाँ बजेट बिनायोजन गरेको छ ।
यस्तै निर्वाचन क्षेत्र नं. ६ बाट निर्वाचत भएका सांसद लालबावु पण्डितले २८ वटा योजना छनौट गरि बजेट बिनायोजन गरेका छन् । उक्त निर्वाचन क्षेत्रमा १० वटा सडक निर्माण सम्बन्धी योजनाहरूमा बजेट बिनायोजन गरिएको छ । पण्डितले विराटनगर ६ स्थित सरोचिया शैलेस मन्दिर भवन निर्माण सम्पन्नमा १० लाख रुपैयाँ बजेट बिनायोजन गरेका छन् । यस्तै बखरी प्रहरी चौकीको भवन निर्माण सम्पन्नमा पनि १० लाख रुपैयाँ बजेट बिनायोजन गरिएको छ ।