इटहरी/  नेपालको पहिलो टेलिभिजन रियालिटी शो कमेडी च्याम्पियन यति बेला फाइनलको चरणमा प्रवेश गरेकोे छ ।प्रतियोगिताको फाइनलमा पुगेका इटहरीका कमेडीयन सुमन कोइराला भने इटहरीमा भोट माग्न व्यस्त छन् ।

फाइनल प्रवेश गरेसँगै च्याम्पियनको मञ्चबाट ‘दलेदाइ’ को उपनामले ख्याति कमाएका सुमन कोइराला यतिबेला गृहनगर इटहरी आइपुगेका छन् । विभिन्न कार्यक्रममा सहभागिता जनाउँदै भोट माग्न उनी इटहरी आइपुगेका हुन् ।

भोटका कारणले शोबाट बाहिरिए पनि फेरि वाइल्ड कार्ड इण्ट्रीबाट धमाकेदार प्रस्तुति दिँदै आएका सुमन कमेडी च्याम्पियनका फाइनलिष्ट हुन् । शुक्रबार इटहरी उपमहानगरपालिकाको सभाहलमा भोट अपिलसहितको पत्रकार सम्मेलनको आयोजना गरिएको थियो ।

सुमनले अहिलेसम्म सहयोग गर्ने सम्पूर्णलाई धन्यवाद दिँदै अब बाँकी रहेको एक खुड्किलो पनि पार गराइदिन सबैसँग अनुरोध गरे । उनले आफूलाई भोटले मात्र जिताउन सक्ने भन्दै पूर्वेलीसँग भोटको आशा गरेको बताए ।

उनले फाइनलमा हिमेश पन्त र खड्गबहादुर पुन मगरसँग प्रतिस्पर्धा गर्दैछन् । शोको विजेताले २५ लाख नगद, २५ लाख बराबरको कार र विश्व भ्रमण गर्न पाउनेछन् । उत्कृष्ट १५ देखियता भोटिङको सम्पूर्ण अघिकार दर्शकहरूको हातमा सुम्पिँदै आइएको छ ।